२८ पौष, पर्वत । राजनीति भनेको पद, पैसा र शक्ति हो । आम बुझाई राजनीतिमा यहि छ । राजनीतिमा लागेर इज्जत मात्रै होइन धेरैले पैसा पनि कमाएका छन । कति अख्तियारको फन्दामा परेका छन । राजनीतिबाटै अकूत धन आर्जन गरेका कतिपयले कारावासको पनि अनुभव गरेका छन । तर, पर्वत कांग्रेसमा एउटा नेताको नाम हो–‘रामचन्द्र जोशी’ ।
जसको उपनाम नै उपकार गर्ने मनकारी बनेको छ । जहाँ गरिब छन । जहाँ दरिद्रता छ । त्यहाँ पुगेका छन जोशी । कुश्मा नगरपालिकाको नगरप्रमुख हुन जोशी । ‘पैसा सवै चिज होइन, जिउँने साधन हो ।’ नगरप्रमुखको हैसियतमा उनले सरकारबाट आर्जन गर्ने सवै रकम गरिबका लागि खर्च गर्दै आइरहेका छन । जोशीले पैसालाई सामान्य साधन मात्र मान्छन । उनले नगरपालिकाबाट आफ्नो लागि न सचिवालय खर्च छुटाएका छन । न आफूले बुझने तलब घर खर्चमा प्रयोग गरेका छन ।
दुई तिहाइको अल्पमतमा परेका जोशीले न आफूले भने जस्ता योजनामा पैसा नै विनियोजन गर्न पाएका छन । विपक्षीहरुले चर्चा कमाउने मेसो भनीरहेका बेला उनको मनकारी यात्रा रोकिएको छैन । गरिब बस्ती, दलित गाउँ र विपन्न परिवार उनको रोजाइ बनीरहेको छ । सम्बृद्ध नगरपालिकाका लागि ठोस योजना आएनन भनेर आलोचना भईरहेको बेला दुई तिहाइको बोझमा परेका जोशी आफ्नो कार्यकाल भरी जनताकै घर दैलोमा पुग्ने योजना बनाएका छन । ‘वडाअध्यक्षहरुले योजना रोज्छन, वडामै ठूलो बजेट लान्छन ।’ जोशी अल्पमतको प्रतिनिधित्व गर्दै जनताको सेवामा छन । सरकारले मासिक नगरप्रमुखका लागि पारिश्रमिक तोकेको छ । कार्य क्षेत्रमा पुग्दा उनका लागि दैनिक भ्रमण भत्ता पनि आउँछ । सवै रकम उनले लोककल्याणकारी कोषमा राखेर खर्च गरीरहेका छन । पछिल्लो पल्ट मात्रै उनले ४० गरिब, दलित विद्यार्थीलाई लत्ताकपडा वितरण गरे ।
विचारमा उनी कांग्रेस हुन तर, कम्युनिष्ट पार्टीको बर्चश्व रहेको कुश्माको पिपलटारीका ४० विद्यार्थीलाई उनले लत्ताकपडा वितरण गरे । कुश्मा १० मा रहेको सिद्धेश्वर प्राविका विद्यार्थीलाई उनले न्यानो लुगा हस्तान्तरण गर्दै भने–‘मेरो ज्यानलाई जस्तै चिसो हजुरहरुलाई पनि हुन्छ होला ।’ तलब भत्ताको रकमबाट सहयोग अभियान सञ्चालन गरेपछि अचेल जोशीको घरमा र कार्यकक्षमा सहयोग माग्नेको ताँती छ । मिर्गौला रोगी देखि घरका विजुलीको रकम तिर्न नसक्ने समेत उनीसंग सहयोग माग्न आइरहेका छन ।
‘गरिब र दिनदुखीको सहयोग जस्तो धर्म अरु के होला ?’ धर्मको नाउँमा पुजा आजा गरेर गरिने लाखौ खर्चका अगाडि जोशीको सहयोग सार्थक धर्म बनिरहेको छ । जिल्लाका अरु स्थानीय तहमा सचिवालय समूह नै बनाएर राज्यको ठूलो रकम खर्च भईरहेको छ । तलब भत्ताको मोटो रकम स्थानीय तहमा खर्च भईरहेको छ । एता, जोशीले भने आफूलाई मत हाल्ने र मत नहाल्ने सवैका लागि आफ्नो पारिश्रमिक रकम खर्च गरीरहेका छन । राजनीतिलाई साँच्चिकै अर्थमा समाज सेवा सम्झने हो भने राजनीति भित्रको दुर्गन्ध पनि हट्थ्यो की ? (समाचार विश्लेषण)




