२५ पौष, पर्वत । जिल्लाको पैयू गाउँपालिको महत्वपूर्ण सडक चिसापानी–हुवास–विहादी सडक कालोपत्रेका लागि टेण्डर आब्हान भएको छ । पूर्वाधार विकास कार्यालय पर्वत मार्फत उक्त सडकको कालोपत्रेका लागि बहुबर्षिय टेण्डर आब्हान भएको हो । कार्यालयले राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा सुचना प्रकाशन गर्दै सडक कालोपत्रेको लागि निर्माण ब्यवसायीको माग गरेको छ ।
कुल १४ किलोमिटर लम्बाई रहेको उक्त सडक कालोपत्रेको लागि बर्षौ देखि स्थानीयले माग गर्दै आइरहेका थिए । मुख्य गरी विहादी र पैयू गाउँपालिका बासिन्दा स्याङजाको वालिङ हुँदै यात्रा गर्नका लागि उक्त सडक पायक पर्दछ । यस अघि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि उक्त सडक कालोपत्रे स्थानीयको पहिलो माग रहेको थियो ।
प्रतिनिधि सभामा तत्कालीन बाम गठबन्धनका उमेदवार पदम गिरी र प्रदेश सभाका उमेदवार विकास लम्सालले उक्त सडकलाई पहिलो प्राथमिकतामा राखेर कालोपत्रेको कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । निर्वाचनमा दुवै उमेदवार विजय भएसंगै उक्त सडक दक्षिणी क्षेत्रको मेरुढण्ड नै भएको भन्दै कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आइरहेका थिए । उता राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले पनि सडक कालोपत्रेमा चासो ब्यक्त गर्दै आइरहेका थिए । जनप्रतिनिधिहरुले गरेको प्रतिबद्धतासंगै सडकले अव भने गति लिने भएको छ ।
कुल ३० करोडको लागतमा डिजाइन स्टिमेट तयार भएको सडक कालोपत्रे हुँदा विहादी र पैयू क्षेत्रका दुई दर्जन भन्दा बढि वडाका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुन्छन । पूर्वाधार विकास कार्यालय पर्वतका सिनियर डिभिजन प्रमुख इन्जिनियर दयाराम अधिकारीका अनुसार सडक कालोपत्रेको प्रक्रिया अव शुरु हुनेछ । उनले भने–‘निर्माण ब्यवसायीको माग गरेका छौं, केहि महिना भित्रै कालोपत्रेको काम अगाडि बढ्नेछ ।’ कालोपत्रेको लागि चिसापानी–हातेमालोचोक–त्रिवेणी–वहाकीभञ्जाङ–खहरेखोला सडकको यस अघि नै डिपिआर निर्माण भईसकेको छ । सोहि सडक खण्डलाई कालोपत्रे गर्ने कार्य अगाडि बढेको इन्जिनियर अधिकारीले जानकारी दिए ।





