पुस १८,पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताएका छन् ।
प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले भ्याउने खालका योजना छनोट गर्नुपर्ने बताए । उनले छोटो समयको भन्दा कम्तीमा २० वर्षे अवधिका योजना बनाउन सुझाव दिँदै राष्ट्रियस्तरका योजना सङ्घीय, प्रदेशस्तरका योजना प्रदेश सरकारले र सानातिना स्थानीय तहले योजना बनाएर अघि बढ्नुपर्ने बताए । तिमिल्सिनाले विकासको नयाँ ढाँचा बनाएर काम थाल्नुपर्ने बताउँदै समृद्धिको अभियानलाई सफल पार्न तिनै तहका सरकारबीच समन्वय गरेर एकीकृत विकासको ढाँचाबाट अघि बढ्नुपर्ने बताए । उनले रणनीतिक, आवधिक र वार्षिक योजनालाई छुट्टाछुट्टै प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशले निर्धारण गरेका दिगो विकासका लक्ष्यहरु सँग तादम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न उक्त कार्यक्रमले महत्वपुर्ण फाईदा दिने हुदाँ योजना आयोगले तयार पारेको पञ्चबर्षिय योजनालाई मसिनो गरी अध्ययन गरेर रचनात्मक सुझाव दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचक अनुरूप विकासका कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिदै मन्त्री लम्सालले विकासका संवाहकहरू के–के हुन सक्छन त्यसको उचित खोज र पहिचान गरी तिनीहरूलाई आर्थिक रूपान्तरणका मुख्य सहयोगीका रुपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रमको संचालन प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. विष्णु बरालले गनुभएको थियो । कार्यक्रममा आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।




