Print

सांसद गिरीको पहल पछि लमायखोलामा मोटरेवल पुलको निर्माण कार्य शुरु

२६ कार्तिक, पर्वत । झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको जिल्लाको फलेवास नगरपालिकाको देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । तीन साता अघि मात्रै पुल निर्माण स्थलमा पुगेर निर्माण कार्यका लागि तत्काल पहल गर्ने सांसद पदम गिरीले प्रतिबद्धता ब्यक्त गरेको १ महिना नवित्दै निर्माण कार्य शुरु भएको हो । संघिय सांसद गिरीले स्थानीयस्तरबाट पुल निर्माण कार्य अवरुद्ध भएको गुनासो आएपछि स्थलगत अवलोकन गरेका थिए ।

पुल निर्माण स्थल लमायखोलामा पुगेका सांसद गिरीसंग स्थानीयले पुल अलपत्र परेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । स्थानीयको आक्रोस पछि गिरीले निर्माण कम्पनी र करिडोरको कार्यालयसंग सम्पर्क गरी जतिसक्दो छिटो निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । गिरीले मंसीर महिनाबाट निर्माण कार्य शुरु गराउने प्रतिबद्धता ब्यक्त गरेको ३ साता पछि निर्माण कम्पनीले निर्माण सामाग्री पुल निर्माण स्थलमा झारेको छ ।

एक्टावेजर सहितका निर्माण सामाग्रीहरु मार्फत निर्माण कार्य अगाडि बढेसंगै स्थानीय बासीले खुशी ब्यक्त गरेका छन । निर्माण कार्य शुरु भएर  पुल अलपत्र पर्दा पुल निर्माण नै नहुने हो की भन्ने चिन्तामा रहेका स्थानीयबासी अव भने पुल निर्माण हुनेमा ढुक्क रहेको स्थानीय हरीहर पोख्रेल बताउँछन ।

संघिय सरकारले निर्माण गरीरहेको कालीगण्डकी करिडोर अन्तर्गतको पर्वत खण्डमा पर्ने सडकमा उक्त मोटरेवल पुलको निर्माण कार्य अगाडि बढेको हो । पुल निर्माण कार्यको प्रारम्भिक चरण मै निर्माण कम्पनीले काम छाडेपछि विगत १ बर्ष देखि पुल अलपत्र अवस्थामा छ । निर्माण कार्य अलपत्र पर्दा समेत कुनै पक्षले पनि चासो नदेखाएपछि स्थानीयले सांसदलाई गुहारेका थिए । सांसदको समन्वयसंगै निर्माण कार्य अगाडि बढेको भन्दै स्थानीयले निर्माण कार्य अन्तिम चरणमा नपुग्दासम्म पुल निर्माणको अनुगमन, निरिक्षण गर्न सांसदलाई आग्रह गरीरहेका छन ।

सांसद गिरीले निर्माण कम्पनी र कार्यालयसंग बारम्बार आफूले गरेको समन्वयका कारण निर्माण कार्य तत्काल शुरुवात भएको जानकारी दिए । उनले मंसीर महिनाबाट कामले रप्तार लिने समेत बताए । ‘कार्तिकको अन्तिम सातामा निर्माण सामाग्रीहरु निर्माण स्थलमा आउन थालेका छन’ सांसद गिरीले भने–‘निर्माण कम्पनीले तुरुन्तै काम अगाडि बढाउन प्रतिबद्धता ब्यक्त गरेको छ ।’

जिल्लाको दक्षिणी क्षेत्रसंग प्रत्यक्ष जोड्नका लागि छोटो दुरीको सडक खण्डमा उक्त पुल पर्दछ । पुल र सडक निर्माण हुँदा दक्षिण पर्वतको विहादी, पैयू र महाशिलाको यात्रा थप सहज हुने स्थानीयको विश्वास छ । झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा पुल निर्माण हुने मोटरेवल पुल २५ मिटर लामो र ११ मिटर चौडाईको रहेको छ । नयाँ बाटो गौचन जेभि कास्कीले मोटरेवल पुलको निर्माण गर्ने जिम्मेवारी लिएको छ ।  अर्थ वीट साप्ताहिकबाट