२६ कार्तिक, पर्वत । जिल्लाको सम्बृद्धिका विषयमा प्रतिनिधि सभा सदस्य पदम गिरी र जिल्लाका नीजि क्षेत्रका ब्यवसायी वीच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम छनौटको पूर्वसन्ध्यामा जिल्लाको सम्बृद्धि र भावी योजनाहरुको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सांसद गिरीको नीजि सचिवालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित ब्यवसायीहरुले जिल्लालाई पर्यटनको हव बनाउन सुझाब दिएका थिए । उनीहरुले खेलकुद र जिल्लाको पहिचान झल्कने उत्पादनलाई मुख्य आधार बनाएर योजनाहरु निर्माण गर्न समेत सुल्झाए । पछिल्लो समय संघियताका कारण बजार बिकेन्द्रीकरण भएकाले नयाँ उद्यम र नयाँ ब्यवसायको शुरुवात गर्नुपर्ने ब्यवसायीहरुको आवश्यकता भएकाले नयाँ ब्यवसायमा राज्यको सहयोग मिल्नुपर्ने उनीहरुको धारणा थियो । ब्यवसायीहरुले उत्तर दक्षिणी जोड्ने मुख्य सडकहरुको कालोपत्रे र कुश्मा बलेवा जोड्ने कालीगण्डकी नदी माथि कल्लेरी मोटरेवल पुल निर्माण कार्यमा समेत यथासक्य प्रयास गर्न सांसद गिरीलाई आग्रह गरे ।
निर्माण कार्य अवरुद्ध भएका योजनाहरुलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाब दिदै ब्यवसायीहरुले झोलुंगे पुल र फन पार्क मार्फत जिल्लाको आर्थिक, पर्यटकीय सम्बृद्धिमा लाग्नु जिल्लाबासीको महत्वपूर्ण आवश्यकता रहेको उनीहरुको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा सांसद पदम गिरीले ब्यवसायीहरुको सुझाबलाई सकारात्मक रुपमा ग्रहण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा गिरीले उत्तर देखि दक्षिणसम्मका सडक कालोपत्रे आफ्नो चुनाव अघि देखि कै एजेण्डा रहेको दोहेराए । उनले जनताको आवश्यकता र चाहना पहिलो सडक सुविधा नै भएकाले प्राथमिकताका आधारमा आफूले पहिले सडक कालोपत्रे कार्यलाई अगाडि बढाउने जानकारी समेत दिए । उनले सडक पछि खानेपानी, सिंचाई, पर्यटन, कृषि र खेलकुदलाई पनि संगसंगै अगाडि बढाउने गरी आफूले योजना निर्माण गरीरहेको जानकारी गराए । आगामी ५ बर्षमा जिल्लाले उल्लेख देखिने गरी परिर्वतनको महशुस गराउने गरी आफू केन्द्रिय सरकार र प्रदेश सरकारसंग समन्वय गरीरहेको समेत गिरीले जानकारी दिए ।
सरकारले प्रत्येक सघिय निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रमका मार्फत सांसदको समन्वयमा विनियोजन गर्ने गरी ४ करोड रकम छुटाएको छ । उक्त रकमबाट निर्माण हुने योजनाहरु छान्दा सहभागीतामूलक विधि अलम्बन गर्ने उद्देश्यले सांसद गिरीको सचिवालयले पर्वत जिल्लामा पहिलो पल्ट यस्तो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । यस अघिका सांसदहरु मार्फत विनियोजन हुने रकममा यस्तो छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु हुने गरेका थिएनन ।
कार्यक्रमका सहभागीहरुले सवै पक्षहरुको सुझाब ग्रहण गर्ने कार्यको लागि सांसद गिरीको प्रशंसा समेत गरेका थिए । कार्यक्रममा समन्वय समिति प्रमुख मनोहर वि.पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पूर्व अध्यक्षहरु मिनप्रसाद श्रेष्ठ, रामकृष्ण कमाचार्य, हरीओम शर्मा, बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, उपाध्यक्ष ठाकुर वि पौडेल, महासचिव गणेश लामिछाने, कोषाध्यक्ष रमेश लामिछाने, पूर्व उपाध्यक्ष शिव पौडेल लगाएतका ब्यवसायीका अगुवाहरुको सहभागीता रहेको थियो ।




