पर्वत २७ भदौ । कुश्मा नगरपालिकाले लगाएको सवारी पटके कर ब्यवसायीको विरोध पछि स्थगीत भएको छ । यस अघि नगरपालिकाले कुश्माको दोविल्लाबाट दक्षिणी क्षेत्रमा जाने सवारी साधनका लागि पटके सवारी कर लगाउने गरी टेण्डर आब्हान गरेको थियो । दुई पटकसम्म २० लाखमा टेण्डर आब्हान गरेको कुश्मा नगरपालिकाले उक्त रकममा कसैले पनि टेण्डर नहालेपछि ११ लाख रुपैंयामा पञ्चासे सिद्धबाराहा निर्माण सेवालाई कर उठाउने जिम्मा दिएको थियो ।
कूश्मा नगरपालिकाले टेण्डर उठाउने जिम्मा दिएको केहि दिन मै फलेवास नगरपालिकाले समेत आफ्नो क्षेत्रमा कर उठाउन थालेपछि ब्यवसायी विरोधमा उत्रिएका थिए । ब्यवसायीले एउटै सडक खण्डमा दुई ठाउँमा कर नतिर्ने भन्दै विरोध गरे लगतै कुश्मा नगरपालिकाले कर नउठाउने निर्णय गरेको कुश्मा नगरपालिकाका राजश्व शाखाका कर्मचारी टेकप्रसाद सुवेदीले जानकारी दिए । नगरपालिकाको राजश्व निर्धारण समितिको वैठकले ब्यवसायीलाई दोहोरो मार परेको भन्दै कर उठाउने निर्णय स्थगीत गरेको उनको भनाई छ ।
नगरपाकिलाले जेठ २२ गते नै पत्र लेखेर कर उठाउने जिम्मा पाएको निर्माण कम्पनीलाई कर नउठाउन आदेश दिईसकेको छ । उता, कम्पनीले भने जेठ २५ गतेसम्म पनि कर लिएको ब्यवसायीको आरोप छ । नगरपालिकाले औपचारिक रुपमा कर लिने कार्य स्थगीत गर्दै अन्तर पालिका समन्वयमा मात्र कर उठाउने कार्य अगाडि बढाउने जनाएको छ ।
यस अघि नगरप्रमुख रामचन्द्र जोशीले जनताको इच्छा विपरितका कुनै पनि कर नलगाईको स्पष्ट पार्दै आएका थिए । उनले जनतालाई मार नपर्ने गरी करका दायराहरु निर्धारण गरिने र जनता आफैले कर बढि भएको विरोध गरेमा त्यसलाई पुर्नविचार गर्न सकिने बताएका थिए ।




