Print

मेरी आमाको साथी (कविता)

-(दीपेन्द्र सरकार)

जो मेरी आमाको साथी बनेको छ
म जान्ने हुँदादेखी त्यो साथीलाई चिन्दछु
जब म भान्साकोठा छिर्छु
दैलोबाट चार कदम अघि सर्छु
अनि चिहाउछु
देउताको चौको
चौकामा चडेका नालीबेली फूल
लोहोटीमा चडाइएको पवित्र जल
शालिग्रामका गह्रुङा शिला
चम्किलो पहेलोँ गणेशको मुर्ती
बलिरहेको दिप
अनि त्यही दीपको शीरमा
एउटा पुरानो फ्रेम
सिसा चर्किएको फ्रेम
अनि फ्रेमभित्र ऊ
ऊ अर्थात् मेरी आमाको साथी
पहेँलो केसरीका बाछिट्टाले पुरिएको इस्टकोट कमिज
शीरमा चडेको ढाका टोपी
पातलो कदको देखिने अनुहार
चिल्लो गालामा पलाएका दाह्रीका ठेट्नाहरु
म त्यो अनुहार देखि एकदमै परिचित भैसकेको थिएँ

म ख्याल गर्थेँ
ऊ कहिले थोरै दायाँबायाँ सरेको हुन्थ्यो
मेरी आमाका खस्रा हातका डाम
फ्रेममा स्पष्ट देखिन्थ्यो
म सानो थिएँ सानो
जब म खेलेर ढिला घर पुग्थेँ
खाना खाइदिनथेँ
जब हातगोडा नधोइ ओछ्यानमा पल्टन्थेँ
आमा आफ्नो साथीतिर फर्केर रुन्थिन
अनि सुनाउथिन
यसलाइ सम्झाइदिनु तपाईं नै
म स्कुलमा फस्ट भएर आउँथे नि
खुसीले गहभरी आँसु पार्दै
आफ्नो साथीलाइ सुनाउथिन
वर्षभरी यसको गतिलो काम यहि हो
कान खोलेर सुन्नुस
तर,
तर आमा बोल्थिन
सुनाउथिन
फकाउथिन
अघि दीप बालिदिन्थिन
अम्बा राख्दिन्थिन
तर ऊ कहिल्यै बोलेको सुनिनँ
फकिएको देखिनँ
त्यो अम्बा खाएको देखिनँ
म उसलाइ कति घोरिएर हेरेँ
कति पटक घन्ट बजाएर झस्काउन खोजेँ
कतिपटक उसका अम्बा खाइदिएँ
न ऊ रिसायो
न खुसायो
न बोलायो
न बोल्यो
ऊ मेरा अघि सँधै एउटै स्वरुपमा देखिन्थ्यो
शालिन तर मुस्कान थिएन मुखमा
चुपचाप तर रिस थिएन अनुहारमा
एकोहोरो मलाइ नै हेरिरहन्थ्यो
मानौँ ऊ मलाइ गहिरो अध्ययन गरिरहेछ
मेरा पाइलापाइलामा नजर पुराइराखेको छ
मैले गरेका सानातिना गल्तिमा नि दन्ड दिनेवाला छ
जब म ऊतिर हेर्थेँ मलाइ नै हेरिरहने ऊ
ओहो ! ऊ त स्कुलको हेडसरभन्दा नि कडा हुनुपर्छ
ऊ मेरो घरमा थियो त्यसैले कहिल्यै गल्ती गरिनँ
सानोतिनो गल्ती गर्दा उसको अघि पर्दै परिनँ
तर,
तर उसले मलाइ माफ दियो
सायद आमाको कुरा सुनेन र मलाइ माया गर्यो

पछि मलाइ याद छ
ऊ मेरा जन्मदिनपछिको महिनामा
अनि दशैँका भन्दा अघिका महिनामा
पिँडीमा निस्किन्थ्यो
काकाको एक ढोग पाएसी
टपरीको गलैँचाको फूलमाथी बस्थ्यो
अनि पछिपछि काकी
उनको काधँको मलमलको पछ्यौरी
जब दुइहातले सिरमा पुग्थ्यो
एक ढोग टाढैबाट पाउँथ्यो
हामीसँगै बसेर कथा सुन्थ्यो
चकचक नगरी बसिरहन्थ्यो
अनि कर मलाइ
बाध्यताले उसको सिको गर्नुपर्थ्यो
मलाइ आमाका दुखेसासँग चासो थिएन
मलाइ उसको आँखा र निधारले झस्काइदिन्थ्यो
जब ऊ अघि पर्थेँ अरु कुरा भुलाइदिन्थ्यो
मलाइ बानी परिसकेको थियो
ऊजस्तै बस्न
ऊजस्तै धैर्य हुन
ऊजस्तै अविचलित हुन
ऊ जस्तै ज्ञानी हुन
ऊजस्तै माया गर्न
ऊजस्तै अरुको मन नदुखाउन

पछि
पछि एकदिन ऊ दाइसँग बजार गयो
फर्कदाँ डबल भएर आयो
एउटा दाइसगैँ परदेशियो
एउटा उही देउताको चौकामा
आमाको साथी भयो
म बिस्तारै ठूलो भएँ
मैले वास्ता गर्न छाडिसकेको थिएँ उसलाइ
मैले उसँग आँखा जुधाउन छाडिसकेको थिएँ
मैले उसको निर्देशन मान्न छोडिसकेको थिएँ
त्यसपछि
न म आमाले ऊसँग गरेका कुरा सुन्ने चेस्टा गरेँ
न आमाका पीडारखुशी साटासाट देख्ने चेस्टा
मेरो आमाको साथीको मतलब हुदैनथ्यो
तर चौकामा जल, फूल, केसरी, दीप सधै उस्तै
सधै दुरुस्तै
कहिल्यै कमी भएन

आजकल
उसलाइ देख्छु
अझै पनि उस्तै
उही दारी, इस्टकोट अनि सर्ट
उही चमक, उही छनक
आजकल ऊ चौकामा मात्रै सिमित छैन
ऊ शहरमा दाइहरुका भाडाका कोठामा देखिन्छ
ऊ गाउँमा दिदीहरुको कर्म घरमा देखिन्छ

समय कति परिवर्तन भयो
उसलाइ ढोग गरेर फूलमा बसाउने
काका ओछ्यान परे
उसलाइ देखे पछ्यौरी सिरमा राख्ने
काकी थला परिन
उसलाइ साथै राख्ने
अनि कथा सुनाउने
दाइहरु गाउँमा छैनन

समय साच्चै परिवर्तन भैस
या ती व्यक्ती परिवर्तन भए
जसले तलाइ अंश लगाए
आफ्नै शैलीमा भित्तामा टंगाए
र आफ्नै शैलीमा घुमाए
र पनि तँ किन विचलित भैन
किन जस्ताको तस्तै छस

मलाई माया गर्ने मेरी आमालाइ छोडेर
आज म कहाँ छु
जसले एक छाक भात नखाँदा ऊसलाइ सुनाउथिन
मेरा हाजिरजवाफका जित
र स्कुलटपका कुरा उसलाइ सुनाउथिन
म बिरामी पर्दा
ऊसका अघिका लोहोटीका जलमा
आगनछेउको तुलसीको पात मिसाएर खुवाउथिन
र आजपनी सुनाउन खोज्दिहुन् मेरा खबर
तर,
उसले आज फोन गरेन भनेर
वर्षौँ बित्यो घर आएन भनेर
खाए नखाएको भनेन भनेर
सन्चो बिसन्चो सुनाएन भनेर
अनि
अनि उनको साथी सुन्न आतुर छ होला
मैले जितेको र स्कुल टप गरेको खबर सुन्न
मैले खाएको र सन्तोषले निदाएको खबर सुन्न
तर मैले उसलाइ सुनाउनै पर्ने कुनै खबर पठाउन सकिनँ
यहाँ मसी सकिएको कलमले के लेखेर पठाउँ?
आज
म त्यो परिवेश नै बदली
ती विगत भुली
आफूमै गुम्सिएको आभास हुदैछ
लागिरहेछ म हराइरहेछु कुहिरोभित्र कागझैँ
म आफूलाइ झुट सावित गर्न

सच्चा त मेरो आमाको साथी थियो
मैले जान्ने हुँदादेखी नै त्यही थियो
जो उनका सन्तान बर्षौदेखी टाढा हुँदा
आज नि त्यही चौकामा
आमाका गन्थन सुनेर बसेको छ
चुपचाप अनि भद्र उही मुद्रामा
ऊ एकपल छोडेर कतै गएको छैन
उही फूल, अम्बा, दीप अनि केसरीमा
उही शालिनतामा
मेरी आमाको साथी !