Print

कालोपत्रेको काम नसकिदै दोविल्ला–फलेवास सडक भत्किएपछि सांसद गिरीले गरे स्थलगत निरिक्षण

१३ साउन, पर्वत । कालोपत्रे गरेर महिना दिनमै सडक भत्किएको खबर सार्वजनिक भएपछि प्रतिनिधि सभा सांसद पदम गिरीले स्थलगत निरिक्षण गरेका छन । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने मुख्य सडक दोविल्ला–फलेवास सडक कालोपत्रे गरेको केहि महिनामै भत्किएको खबर सार्वजनिक भएको थियो ।

सडक भत्किएको, कालोपत्रे उक्किएको खवर पाउँदा साथ सामाजिक सञ्जाल मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका सांसद गिरीले आइतबार उक्त सडकको निरिक्षण गरेका छन ।

सडकको निरिक्षण लगतै प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालयलाई सडकको गुणस्तर तत्काल सुधार गर्ने निर्देशन समेत दिए ।

पर्वतको कुश्मा नगरपालिका–११ मा करोडौँ खर्च गरेर बनाएको दोबिल्ला–फलेवास सडक खण्डको कालोपत्रे दुई महिना नपुग्दै उक्किएको छ भने सडकको सिल्मी बन क्षेत्रमा २ सय मिटर सडक भासिएको छ ।

सडक डिभिजन कार्यालय, बाग्लुङसँग ठेक्कामा लिएर फेवा कन्स्ट्रक्सन प्रालिले गरेको सो कालोपत्रे दुई महिना पनि टिक्न नसकेपछि जिल्ला प्रशासन कार्यालय, पर्वतले अनुगमन गरेको छ । सडक डिभिजन कार्यालय, बाग्लुङले नियमित अनुगमन नगर्दा सडकको अधिकांस स्थान बिग्रिएको छ ।

गत जेठको अन्त्यतिर मात्र पिच गरिएको उक्त सडक निर्माण कार्य नसकिँदै वर्षाको पानीले बगाएर लगेको छ । गुणस्तरीय काम नभएकाले सडकका अधिकांश स्थानमा बनाइएका टेवा पर्खाल भत्किएका छन् भने सिल्मी फाँट स्थित घुम्तिमा करिब ५० मिटर सडक बिग्रिएको छ ।

सडकका ठाउँ ठाउँमा खाडल भएपछि सवारी चलाउन समस्या भएको सवारीचालक र स्थानीयले बताएका छन ।

जिल्लाको दक्षिणी पालिकालाई जोड्ने गरी निर्माण थालिएको सो सडक खण्डको पहिलो चरणमा चार वर्षअघि सकिएको सडक पनि छ महिना नपुग्दै भत्किएको थियो । दोस्रो चरण अन्तर्गत सुरु गरिएको सात किलोमिटर सडकको पाँच किलोमिटरमा काम सकिएको र बाँकी काम अलपत्र अवस्थामा रहेको छ ।

गत असार मसान्तमा सक्ने भनिए पनि हालसम्म बाँकी दुई किलोमिटर सडक भने काम सुरु नै नभएको सडक डिभिजन कार्यालय, बाग्लुङका प्रमुख खत्रीले बताए ।