२१ जेठ, पर्वत । मोदी गाउँपालिकाले कार्यालयमा मर्या्दित र प्रभावकारी सेवा प्रवाहका लागि गर्न सीसी टिभी जडान गरिेको छ । सेवाग्राहीलाई समयमै सहज रुपमा सेवा उपलब्ध गराए नगराएको जानकारी लिनका लागि कर्मचारीको काम निगरानी गर्न सीसी टिभी जडान गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।
सीसी टिभी जडान पश्चात कर्मचारीले काम गरेको नगरेको रेकर्ड रहने तथा सेवा लिन आउने सेवाग्राहीले के कस्ता क्रियाकलाप गरिरहेका छन् भन्ने जानकारी सजिलै प्राप्त हुने अध्यक्ष पौडेलको दावी छ । कर्मचारीहरुको कामप्रति जनगुनासो बढ्न थालेपछि सीसी टिभी जडान गरेर निगरानी गर्न गर्न लागिएको भन्दै उनले सीसी टिभीबाट कर्मचारीहरुको कामको मुल्याङ्कन आफैले गर्ने बताए ।
गाउँपालिकामा कुनै व्यक्तिबाट अपराधिक कार्य हुन सक्ने भएकोले गाउँपालिका कार्यालयलाई सुरक्षाको महसुस बनाउन पनि सहयोग पुग्ने अध्यक्ष पौडेलको भनाइ छ । गाउँपालिकाले कार्यालयमा यसअघि विद्युतीय हाजिरी समेत सुरु गरिएको छ । यो हाजिरी शुरु भएपछि कर्मचारीहरु समयमै कार्यालय आउन थालेको उनले जानकारी दिए ।
गाउँपालिका भित्रका विद्यालय तथा वडा कार्यालयमा पनि विद्युतीय हाजिरी शुरु गर्ने तयारी गाउँपालिकाले गरेको छ । पहिलो चरणमा विद्यालय र वडा कार्यालयमा विद्युतीय हाजिरी शुरु गर्ने भन्दै अध्यक्ष पौडेलले त्यसपछि अन्य कार्यालयमा पनि शुरुआत हुने बताए ।
गाउँपालिकाले विद्यालय र अन्य कार्यालयमा समेत बिधुतिय हाजिरी शुरु गर्ने तयारी गरेको । गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले बताए ।




