Print

कुश्मामा दिउँसै बालिका अपहरणको प्रयास, अपहरणकारीको भाग्दै गर्दा भीरबाट खसेर मृत्यु

१७ चैत, पर्वत । बालिका अपहरण गरेर भिरमा लुकाउँदै गरेका एक ब्यक्तिको भिरबाट खसेर मृत्यु भएको छ । बालिका अपहरण गरी कुश्मा नगरपालिका वडा न ४ भण्डारी टोल स्थित चाक्लेडिलमा लुकाई राखेको अवस्थामा स्थानीयले बालिका अपहरण मुक्त गरेका थिए ।

लगतै स्थानीयले प्रहरीलाई खबर गरेर अपहरणकारीलाई नियन्त्रणमा लिन खोज्दा अपहरणकारीको भिरबाट लडेर मृत्यु भएको स्थानीयबासीले बताएका छन ।

शनिबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घरमा बस्दै गरेकी साढे दुई बर्षकी बालिकालाई अपहरण गरिएको हो ।

अपहरणकालीले बालिकालाई नजिकैको डिलमा लगेर मुख थुनेर नियन्त्रणको प्रयास गरेका थिए । उक्त दृश्य देखेका एक स्थानीयले हो हल्ला शुरु गरेपछि बालिका छाडेर अपहरणकारी भागेका थिए ।

बालिका छाडेर भिर तर्फ भागेका अपहरणकारीको खोजी कार्य गर्दा झण्डै १ घण्टा पछि उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

डिलबाट झण्डै २ सय मिटर तल उनको शव फेला परेको हो । शवलाई पोस्टमाटमका लागि जिल्ला अस्पताल कुश्मामा राखिएको छ ।

मृतक ति ब्यक्तिको सनाखत हुन सकेको छैन । स्थानीयका अनुसार झण्डै ४० देखि ४५ बर्षको उक्त ब्यक्तिले स्थानीय एक होटलबाट वियर किनेर खाएका थिए । त्यस लगतै बालिकालाई नियन्त्रणमा लिई डील तर्फ लगेपछि स्थानीयले बालिकालाई छुटाएका हुन ।

मृतक ति ब्यक्तिले बालिकालाई के कारणले डिलमा लगेर राखे, त्यो विषयमा अनुन्सधान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटना स्थल आर्दश आवासीय मावि नजिकै पर्छ । विद्यालयको मुल गेट भन्दा ३० मिटर तलको डिलमा बालिकालाई राखिएको थियो ।

घाँस काट्न हिड्दै गरेका एक स्थानीयले बच्चा रोइरहेको आवाज सुनेपछि ‘को हो ? कस्ले के गर्न लागेको हो’ भनेर आवाज दिए लगतै मृतक ति ब्यक्तिले बालिका छाडेर भिर तर्फ भागेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार ति ब्यक्तिले बालिकाको मुख अठाईरहेका थिए ।

यद्यपि बालिकाको मुखबाट आवाज निस्कीरहेको थियो । घटनाको बारेमा थाहा पाए लगतै स्थानीयबासीको ठूलो भिड घटनास्थलमा लागेको थियो ।

प्रहरीले अनुसन्धान पछि थप विवरण आउने बताएको छ ।

(ब्यक्तिगत गोपिनीयताका लागि बालिका र उनको परिवारको नाम समाचारमा गोप्य राखिएको छ)