Print

सामूहिक बलात्कारको अभियोगमा कुश्माबाट ४ युवा पक्राउ

पर्वत १६ चैत । सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका वडा न ४ छमर्केबाट ४ जना युवालाई नियन्त्रणमा लिएको छ ।

गोप्य सुराकीका आधारमा प्रहरीले छमर्के घुम्ति स्थित न्यूज सेवा गेष्ट हाउसमा सर्च गर्दा गेष्ट हाउसमा १६ बर्षकी किशोरीलाई पालैपालो बलात्कार गरीरहेका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा न १ सहसूधारा बस्ने २३ बर्षका शिशिर क्षेत्री, कुश्मा ५ बस्ने १७ बर्षका सौगात शर्मा पौडेल र सोहि ठाउँमा बस्ने १७ बर्षका सुजल श्रेष्ठ तथा बागलुङ नगरपालिका अमलाचौर घर भएका होटल सञ्चालक ३८  बर्षका शेरबहादुर हमाललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका क्षेत्री गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्माका स्वतन्त्र विद्यार्थी युनिएनका सभापति समेत हुन । उनी नेपाल विद्यार्थी संघबाट सभापति बनेका थिए ।

पक्राउ परेका युवाहरुलाई शुक्रबार नै जिल्ला अदालत सामू म्ुद्धा दर्ता गरी ७ दिने म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए ।

उनीहरुले एक किशोरीलाई बन्द कोठा भित्र पालो गरी गरी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।