कुनैबेला बलेवाको आकाशमा जहाज उड्दा
मेरी हजुरआमाले भन्नुहुन्थ्यो
‘ए जहाज ! मेरो नातिलाई पैसा फालिदे’
हजुरआमाको त्यो भनाई सुनेर
मेरो बाल मष्तिस्कमा
एउटा सपनाको अंकुरन भएको थियो
जहाजले कुनैदिन मेरालागि अवस्य पैसा फालिदिनेछ
त्यसपछिका हरेकदिन
उडेको जहाजतिर फर्केर
मैले भन्दै गएँ ‘ए जहाज !
मलाई पैसा फालिदे !
मेरी आमालाई पैसा फालिदे
मेरा बा’लाई पैसा फालिदे
मेरी हजुरआमालाई पैसा फालिदे !’
समय वित्दैगयो
जहाजसँग पैसा माग्ने मेरी हजुरआमा पनि
एकदिन वितेर जानुभयो
हजुरआमा वितेको केही समयपछि
बलेवाको आकाशमा बन्द भयो जहाजको आवाज ।
आज २७ बर्षपछि मैले भर्खरै सुनेँ
मेरो गाउँमा फेरि जहाज आएछ
राजधानीबाट
सुकिला मान्छेहरू बोकेर आएको त्यही जहाज
गाउँतिरका केही सुकिला मान्छेहरू बोकेर फेरि उड्यो रे
जहाज हेर्न भेला भएका
मेरो गाउँका दाजुभाई/दिदीबहिनीहरू
बाआमा तथा इष्टमित्रहरू
जहाजको धूलोले बिगारेको अनुहार पुछ्दै घर फर्केछन् ।
गाउँमा अभाव छ
भोक छ
गरिबीको चिस्यानमा मुर्झाएको सुकेनासी जीवनमा
जहाज आउँदा वा नआउँदा के फरक पर्छ
यो कुरा मेरी आमालाई थाहा छैन
आमालाईजस्तै गाउँका धेरैलाई यो कुरा थाहा छैन
किनकि सार्वजनिक बसमा भाडा तिर्न पछुतो मानेर
चप्पल पड्काउँदै पैदल हिँड्ने
मेरा गाउँका धेरै इष्टमित्रहरूलाई
जहाजको महिमा के थाहा !
उनीहरुलाई मात्र यति थाहा छ
धेरै बर्ष पहिला
त्यही जहाज ग्राउन बनाउन
धेरै गाउँलेहरुले श्रमदान गरेका थिए रे
जहाज ग्राउनकै लागि ढुङ्गा बोक्दा
भाँच्चिएको थियो रे मेरा बा’को दाहिने खुट्टा ।
त्यही जहाज ग्राउनका लागि
गाउँका धेरै गरीबले
आफ्नो रगत र पसिना पोखेका थिए रे ।
रत आज धेरै बर्षपछि
जहाज फेरि आएको छ त्यो मैदानमा
यतिखेर त्यही जहाज उडाएर धन कमाउनेहरू छन्
त्यही जहाज चढेर रमाउनेहरू पनि छन्
तर तिनै कमाउने र रमाउनेहरुको वीचमा
जहाज हेरेर मन बुझाउने मेरो गाउँका धेरै विपन्न आँखामा पनि
खेलिरहेको छ उस्तै खुसी ।
–ओमप्रसाद घायल




