३ पुस, पर्वत । खानेपानीको अभाव भएको विद्यालयमा पुगेका सांसद पदम गिरीसंग विद्यार्थीले पानी मागेका छन । निर्वाचन जितेपछि मतदाता भेट्न गाउँ पुगेका एमालेको जिल्ला अध्यक्ष समेत रहेका सांसद गिरीसंग शुभकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुले खानेपानी मागेका हुन ।
कुश्मा नगरपालिका वडा न १४ आर्थरमा रहेको उक्त विद्यालयमा विद्यार्थीका लागि खानेपानीका चरम समस्या छ । विद्यालयका प्रअ सुरेन्द्र शर्मा गौतम भन्छन–‘विद्यालयमा खानेपानीको चर्को समस्या छ’ खानेपानीको श्रोत भएर पनि आर्थिक अभावका कारण विद्यालयसम्म पानी ल्याउन नसकिएको बताउँदै शर्माले खानेपानी जस्तो आधारभूत सुविधा पनि विद्यार्थी दिन नसकेको कुरा यथार्थ रहेको बताए । गर्मियाममा खानेपानीको अझै समस्या छ ।
‘प्रचण्ड गर्मीमा पानी नभएर विद्यार्थी काकाकूल जस्तै हुन्छन’ पानी ब्यवस्थापनका लागि यस अघि जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिलाई अनुरोध गरेपनि हालसम्म पनि त्यसको सुनुवाई नभएको गौतमको भनाई छ । उनले विद्यार्थीहरु आफ्नैले घरबाट ल्याएको पानी खाएर दिन विताउन परेको बताए ।
उता, विद्यालयमा पुगेका नवनिर्वाचित सांसद गिरीले पानी जस्तो मानिसको पहिलो आवश्यकता पुरा नुहुन राज्यको कमजोरी रहेको बताए । ‘पानी मात्र होइन, स्वच्छ पानी जनतालाई उपलब्ध गराउने राज्यको दायित्व हो ।’ उनले भने–‘तत्काल विद्यालयमा खानेपानीको ब्यवस्थापन गर्न पहल गर्नेछु’ खानेपानीको अभाव हुँदा विद्यालयमा शिक्षक र विद्यार्थी दुवैलाई समस्या परेको छ ।





