Print

कुश्माको विकास ‘फास्ट ट्रयाक्क’मा हुन्छ

३ माघ, पर्वत । सोमबार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी तनावमा थिए । धिमा गतिको कर्मचारी प्रशासन प्रति निराश जोशीले कर्मचारीलाई निर्देशन दिदै भने ‘प्रक्रिया पुगेका शिक्षकको सरुवा छिटो अगाडि बढाउनुस’ कागजात पुगेर पनि सरुवाको पत्र हात नपरेको भन्दै नगरपालिकाको परिसरमा बसेका शिक्षकलाई देखाउँदै भने ‘शिक्षक स्कूलमा पढाउन जाने हो की नगरपालिकामा बस्ने ?’ कर्मचारीको शास्त्रीय चिन्तन देखि दिक्क मान्दै जोशीले प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछानेलाई अर्को निर्देशन दिए ‘आवश्यक निर्णय म लिन्छु सरुवाको पत्र तयार पार्नुहोस ।’ लामो समय जनप्रतिनिधि वीचको विवादले नगरसभा नहुँदा विकास योजनाहरु अलपत्र परेको नगरपालिकामा कर्मचारी प्रशासनको संयन्त्र पुरातन शैलीमा चलेको जोशी बताउँछन ।

नगर सभाले ६० करोड बराबरको नगर बजेट तयार पारेको छ । ५० लाख हारहारीका ठूला योजनाहरु र ५० हजारका टुक्रे योजना समेत नगरसभाले पारित गरेको छ । ‘माघ १५ सम्ममा उपभोक्ता समिति गठन गर्न मिति तोकिएको छ ।’ जोशीले भने–‘ठूला योजनाहरु पनि उपभोक्ता समिति मार्फत गर्न प्राथमिकता दिइएको छ ।’ आगामी माघ १५ सम्ममा उपभोक्ता समिति गठन नहुने योजनाहरु मध्ये ठूला योजनाहरु ठेक्का विधि मार्फत गरिनेछ ।
अवको युग प्रविधि मैत्री बन्दै गएको भन्दै जोशीले कर्मचारीतन्त्रको सुस्तता र राजनैतिक किचलोले विकास निर्माणमा अवरोध गर्न नहुने उनले बताए । कार्यकक्षमा बसेर भन्दा जनताको घर दैलोमा पुगेर सेवा दिने गरी आफूले विकास योजनाहरुलाई ब्यवस्थित बनाउने प्रयास गरेको जोशीको भनाई छ ।

जोशी झण्डै ९ सय मतले प्रतिद्धन्द्धीलाई हराउँदै कुश्मा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन । प्रमुख पदमा निर्वाचित भएपनि उनी नगरकार्यपालिकामा अल्पमतमा छन । भन्छन ‘निर्वाचन पहिलेको ह्याङ अव मेटिनु पर्छ ।’ प्रदेशकै उत्कृष्ट नगर बनाउने संकल्प गर्ने हो भने कुश्मा नगरपालिकामा थुप्रै श्रोत र साधन रहेको छ । जोशीले दलहरु वीचको समदुरी कायम गर्दै नगर सभाले विनियोजन गरेका सवै विकास योजनाहरुको काम चालु आर्थिक बर्षमा फास्ट ट्रयाक्क मार्फत हुने जिकिर समेत गरे ।