Print

जोशीले देखाएको राजनैतिक संस्कारको सामाजिक सञ्जाल भरी चर्चा

२६ मंसीर, पर्वत । मंसीर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भयो । त्यसको ३ दिन पछि मतदानको मतपरिणाम समेत सार्वजनिक भयो । प्रतिनिधि सभामा एमालेको तर्फबाट पदम गिरी र कांग्रेसको तर्फबाट अर्जुन जोशी चुनावी मैदानमा थिए । जोशीलाई १२ हजार २ सय ४८ मतले हराउँदै गिरी प्रतिनिधि सभा सदस्य बने ।

मतपरिणामको सार्वजनिक गर्ने बेला जोशी मतगणना भईरहेको स्थानमा पुगे र विजयी उम्मेदवार गिरीलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिदै बाहिरीए । यस अघिका चुनावहरुमा निर्वाचनमा पराजय हुनेहरुले निर्वाचन धाँधलीपूर्ण भएको भन्दै मतपरिणाम प्रति अवस्विास गर्ने गरेको संस्कारलाई जोशीले चुनौति दिएको भन्दै यतिबेला सामाजिक सञ्जालहरुमा जोशीलको चर्चा चुलिएको छ । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक सहित प्रमाणपत्र वितरण समारोहमा पुगेका जोशीले आफूलाई भारी मतान्तरले हराउन सफल एमालेका नेता गिरीलाई बधाई दिए । हात मिलाए । तस्विर खिचाए ।

राजनैतिक संस्कारयुक्त समाज निर्माण गर्नुपर्छ भन्नेहरुलाई जोशीको यो गतिविधिले लोभाएको छ । २०७० सालको निर्वाचनमा तत्कालीन माओवादी देशभर पराजीत भएपछि संस्थागत धाँधली भएको भनेर निर्वाचनको मत गणना बहिष्कार गरेको थियो । मतपरिणाम सार्वजनिक पछि मत पत्र साटिएको आरोप लगाएको थियो । यति बेला सरकारमै रहेको नेपाली कांग्रेस देश भर पराजीत भएको छ ।

झण्डै ४६ जिल्लामा निल भएको छ । तर नेपाली कांग्रेसका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण रहेको भन्दै विजयी उमेदवारहरु विजयको लागि बधाई ज्ञापन गरिरहेका छन ।