Print

पदम गिरी गाउँ पुगेपछि कोणसभा यसरी बने एकाएक आमसभा

२७ कार्तिक, पर्वत । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चाले यसपटकको निर्वाचनमा जिल्लामा ३ वटा आमसभा गर्ने तयारी गरेको थियो । मोर्चाको कमजोर उपस्थिती मानिएको पैयू, विहादी र जिल्लाभर सन्देश जाने गरी कुश्मामा आमसभाका स्थलहरु थिए ।

आगामी कार्तिक ३० गते नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र पुष्पकमल दाहाल कुश्माको आमसभा सम्बोधन गर्न आउने भएपछि भने मोर्चाले अरु ठाउँका सवै आमसभा स्थगित गर्ने तयारी गरेको छ । वडा स्तरमा टोल स्तरीय कोण सभा मार्फत गठबन्धनको अर्थ र आगामी कार्य दिशाको बारेमा जनतालाई सुसुचित गर्ने गरी एमाले र माओवादीको गठबन्धन गाउँ छिरे पनि एमाले जिल्ल्ला अध्यक्ष एवम् प्रतिनिधि सभाका उमेदवार पदम गिरी गाउँ आउने समाचार पाएका गाउँहरुमा कोणसभाहरु विशाल आमसभामा परिणत भएका छन ।

आइतबार जलजला गाउँपालिकाको लेकफाँट पुगेका उमेदवार गिरीको मन्तब्य सुन्न कै लागि सामान्य कोणसभा निकै ठूलो उपस्थिती रह्यो । एमाले प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी भन्छन–‘खेतीपातिको सिजन भएकाले सानो कोणसभाको आयोजना गरिएको हो । उनले थपे–‘गाउँ भरीका सयौ जनाको उपस्थितीले कोणसभा आमसभामा परिणत भयो ।’ यस अघि माझफाँटमा आयोजीत कोण सभामा पनि उपस्थिती निकै बाक्लो रहेको अधिकारीको दावी छ । उनले बाम एकताको उत्साहले गठबन्धनको कार्यक्रममा निकै ठूलो उपस्थिती भएको जिकिर गरे ।

सोमबार मात्रै उमेदवार गिरीको गृह वडा रहेको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको कोण सभा पनि आमसभा जस्तै बन्यो । राजनीतिक रुपमा निकै प्रभावशाली नेताहरु जन्माएको दुर्लुङमा नेता गिरीको भाषण सुन्नकै लागि बाक्लो उपस्थिती रहेको एमाले प्रचार विभागका सचिव किशोर सापकोटा बताउँछन । पछिल्लो समय जिल्लामा बाम एकता हुने भएपछि कम्युनिष्ट आन्दोलनमा लागेका थुप्रै कार्यकर्ताहरु उत्साहित बनेका छन । त्यहि उत्साहले कार्यक्रमहरुको सहभागीता पनि बाक्लिदै गएको हुनसक्ने सापकोटाले अनुमान गरे ।