Print

वडा सदस्यको उदाहरणीय कार्य, तरकारी खेतीबाटै बार्षिक ४ लाख बढि आम्दानी

७ असोज, पर्वत ।  करीव ८ वर्ष साउदी र दुबईमा बिताएका कुश्मा ७ दुर्लुङचोकका निलराज पुरी अहिले घरमै बसेर खाडीको भन्दा दोब्बर आम्दानी गरेका छन् । उनी मेहनत र जाँगर भए कृषिमा लागेर थोरै जमिनमा पनि पर्याप्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मात्रै बनेका छैनन्, कुश्माका अधिकांशलाई तरकारीको मुख्य स्रोत समेत बनेका छन् ।

आफूसँग भएको थोरै जमिनलाई उपयोग गरेका उनले तरकारीका बिरुवा र गंड्यौले मल बिक्री गरेर मात्रै वार्षिक ४ देखि साढे ४ लाख आम्दानी गर्छन् । आफन्तको १ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका उनले ६२ देखि यो पेशा अपनाएका हुन् । ‘सानैदेखि कृषिमा लाग्ने सोंच थियो,’ आइतबार दिउँसो बारीमा भेटिएका पुरीले भने, ‘सोचेअनुरुप नभएपछि केही वर्ष खाडीमा बिताएँ । संयोगले त्यहाँ पनि कृषि फर्ममै काम गर्ने मौका मिल्यो । घर फिरेपछि त्यसैलाई मुख्य पेशा बनाएँ ।’ थोरै बारीमा पनि उनले भरपुर उपयोग गरेका छन् । भुईंमा तरकारीका बिरुवा लगाएका उनले त्यसमाथिको चाङमा लहरे तरकारी फलाएका छन् । पुरी स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका वडा न ७ का निर्वाचित वडा सदस्य हुन ।

पुरीले बारीमा सिजन अनुसारका गोलभेंडा, काउली, बन्दा, ब्रोकाउली, घिरौंला, करेला, लौका, भण्टा, खुर्सानीका बिरुवा उत्पादन गर्छन् । ‘बिरुवाको भाउ राम्रै छ,’ उनले सुनाए, ‘प्रतिगोटा ३ देखि २५ रुपैँयामा बिक्री हुन्छ ।’ काउली र बन्दा ३ रुपैँया, ब्रोकाउली ४, गोलभेंडा र भण्टा ५ रुपैँया गोटामा बिक्री गर्छन् । त्यस्तै घिरौंला, करेला लौका २५ रुपैँया गोटा बिक्री हुन्छ । बजारक्षेत्रमा थोरै तरकारी लगाउने उनकै बारीमा बिरुवा खरिद गर्छन् । ‘बिरुवा आफै उत्पादन गर्दा बढी खर्चिलो हुन्छ,’ बिरुवा किन्न आएका दुर्गा क्षेत्रीले भने, ‘यहाँबाट किनेर लगेपछि थोरै खर्चमा आफूलाई पुग्ने तरकारी फल्छ ।’ घरको छत, थोरै करेसाबारी हुनेहरु बिरुवा किन्न पुरीको नर्सरीमा पुग्छन् ।

पुरीले प्राङ्गारिक गड्यौले मल र गड्यौला समेत उत्पादन गर्छन् । अहिले उनले ४०–४५ किलो गड्यौला छन् । गड्यौला प्रतिकिलो ३ हजार रुपैँयामा बिक्री हुन्छ । त्यसको मल २० रुपैँयामा बिक्छ । उनको पेशामा अहिले श्रीमती चन्द्रकला पुरीले सघाउँछिन् । दैनिक १२ देखि १६ घण्टासम्म बारीमा खट्ने उनले यो १२ वर्षमा कृषिक्षेत्रका धेरै प्रविधि सिकेका छन् । ‘कुन रोगको उपचार के गर्ने भन्ने सबै आफै सिकेको छु,’ उनले भने, ‘कामले काम सिकाउने रहेछ ।’

लामो समय कृषिलाई नै मुख्य पेशा बनाएका पुरीलाई कृषि क्षेत्रमा आउने सरकारी अनुदानले भने छोएको छैन । ‘बजारमा घर भएकोलाई दिनुहुन्न’ भन्दै ७ वर्षअघि कृषिका एक अधिकृतले फर्काइदिएपछि अहिलेसम्म जिल्ला कृषिविकास कार्यालयमा कुनै सहयोग माग्न नगएको उनले सुनाए । ‘अहिलेका प्राविधिकहरुले सहयोग गर्ने आश्वासन दिएका थिए,’ पुरीले भने, ‘मलाई पुरानो कुराको छाप बसेकोले गएकै छैन ।’ बजारमा आफूलाई बस्न पुग्ने बास भए पनि अरु आम्दानीको स्रोत नभएका उनले तरकारीका बिरुवाबाट मात्रै परिवारको राम्रो व्यवस्थापन गरेका छन् । ३ छोरा छोरीको पढाईमा वार्षिक ३ देखि साढे ३ लाख खर्च हुन्छ । अरु घरखर्च रामैै्र चलेको उनी बताउँछन् । ‘मेरो बिदेश बसाइले धेरै पाठ सिकायो,’ पुरी भन्छन्, ‘उता ९बिदेश०मा गर्ने श्रम यहाँ गर्न सके कोही पनि बेरोजगार बस्नुपर्दैन ।’ – कुशुमपुर टुडेबाट