Print

पर्वत मल्लाजमा दुई महिलाले शुरु गरे ६५ लाख लगानीमा बाख्रा फार्म संचालन

२१ भदौ, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा व्यावसायिक बाख्रापालन फर्म स्थापना भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ विरेन्द्रचोककी पुष्पा पुन र जलजला–४ की सुशिला कटुवाल मल्लले संयुक्त रुपमा लगानी गरी सुईलन एण्ड साहन बाख्राफर्मबाट व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।

उनीहरुले म्याग्दीको सदरमुकाम बेनीमा महिलाहरुको आफ्नै व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण लगेर लगानी गरी बाख्रापालन सञ्चालन गरेको बताएका छन् । विगत डेढ वर्षदेखि सञ्चालित बाख्रा फर्ममा अहिले बोयर जातका साना पाठापाठीदेखि माउ बाख्रासम्म ३५ ओटा रहेको कृषक सुशिला कटुवाल मल्लले बताउनुभयो ।उहाँले बाख्राका लागि खोर व्यवस्थापन, बाख्रा खरिद, दानपानी, कामदार, औषधी उपचारमा २५ लाख रुपैयाँ लगानी गरिएको जानकारी दिनुभएको छ । लामाखेत आसपासको क्षेत्रमा ३५ रोपनीमा बाख्राका लागि विभिन्न जातका डाले तथा भुइँघास समेत रोपिएको कृषकद्वयको भनाई छ ।

यसैबीच सुशिला कटुवालले लामाखेतस्थित आफूले ५ रोपनीको जग्गा खरिद गरी मल्ल रिसोर्ट सञ्चालन गरेको बताउनुभयो । झण्डै ६५ लाखको लागतमा जग्गा खरिद गरी गएको वर्षदेखि रिसोर्ट स्थापना गरी सञ्चालन गरिएको उहाँले बताउनुभएको छ । मल्लका अनुसार रिसोर्टमा स्थानीय लोकल खानाका परिकारहरु बनाउने गरिएको छ । त्यस्तै मल्ल रिसोर्टमा घरमै पालिएका हाँस, कुखुरा र खसीको विभिन्न आइटम अनुसार स्वादिष्ट खानाहरु रहेका छन् ।

यसका साथै अरिङ्गाल, माछाको स्वादसँगै सिजन अनुसारको लोकल चीज र खाजा तथा खानाको स्वाद लिन सकिन्छ । म्याग्दी पर्वतको लाइफलाइन मानिने राजमार्ग बेनी–पोखरा सडकखण्ड अन्तर्गत बेनीबजारदेखि नजिकै लामाखेतमा रहेको मल्ल रिसोर्टमा ग्राहकको आकर्षण बढ्दै जान थालेको सञ्चालक सुशिला बताउँनुहुन्छ ।