२० भदौ, पर्वत । कुस्मा नगरपालिका ६ की लक्ष्मी गिरी गत दुई सातादेखि आफ्नै घरबाट एकाएक वेपत्ता भईन् । वेपत्ता लक्ष्मीको अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । उनी वेपत्ता हुने एकमात्र कारण थियो व्याज कमाउने लोभ ।
आफ्नै घरबाट एकाएक हराएकी लक्ष्मीले आफ्ना श्रीमान् र छोरा, छोरीलाई सम्बोधन गरेर लेखिएको चिठी हेर्दा वेपत्ता हुने प्रमुख कारण नै पैसा लेनदेन भएको पर्वत प्रहरीले जनाएको छ ।
चिठी अनुसार कुस्मा ५ की शकुन्तला श्रेष्ठले आफ्नो रकम लगेको र उनले नदिएका कारण आँफू घर छाडेर नै हिँड्नु परेको आयशको पत्रसँगै रकम लेनदेनको कारण भएको खुल्न आएको हो ।
लक्ष्मी र शकुन्तला कुस्माका उदाहरण पात्र मात्रै भएपनि लक्ष्मीको अवस्था अझैसम्म अज्ञात रहँदा यसको कारण खोज्न प्रहरीलाई पनि समस्या परेको छ । उनी के कारणले वेपत्ता भईन् र अझैसम्म कहाँ छिन् भन्नेमा प्रहरी समेत अनविज्ञ रहेको छ । विशेष गरि कुश्मा बजारमा चाँडै धनी बन्ने र विलासी जीवनशैली अँगाल्ने चाहनामा धेरै पैसामा व्याज लगाउनेहरु गिरोह चलाएर बसेका छन् ।
उनीहरुले रकम व्याजमा दिने र त्यसबाट वार्षिक ४० प्रतिशत भन्दा बढि रकम लिने गरेको पाईएको छ । यसले गर्दा केही मालामाल त केही उठीवास हुने गरेका उदाहरण यस अघी देखिकै भएपनि प्रहरीसम्म नपुग्ने कारण समस्या हुँदै आएका छन् ।
केही समय पहिला कुस्मामा बस्ने कमला वाईबामार्फत मोटो रकम व्याज असुलेका धेरै गृहीणी महिलाहरु र केही धनाड्यहरुलाई बिल्लीबाँठ बनाएर भागिन् । उनी भागेपछि केहीले उनको घर बेचेर पैसा लिए भने केही हेरेको हे¥यै भए । वाईबाले पनि ३ देखि ९ रुपीयाँसम्म व्याज दिने गरि मोटो रकम लेनदेन गरेकी थिईन् भने केही ढिकुटीमा समेत पसेर रकम बुझेपछि भागेकि थिईन् । उनलाई व्याजमा दिने र ढिकुटी संचालन गर्नेहरुले बेईज्यत हुने देखेर प्रहरीमा उजुरी समेत गरेनन् ।
यसरी ढिकुटी संचालन गर्ने र अबैध रुपमा व्याजमा संलग्न रहेकाहरुले प्रहरीहरुलाई समेत प्रभावमा पार्ने भएकाले प्रहरी प्रशासनले कुनै कदम उठाउन सकिरहेको छैन । गिरोह नै संलग्न भएका कारण प्रहरीले मात्रै पनि केही गर्न नसक्ने देखेर प्रहरी मुकदर्शक बन्दै आएको छ । तर प्रहरीले भने यस्ता घटनाहरु प्रहरीसम्म नआउँदा कुनै कारवाही अगाडी बढाउन नसकिएको बताएको छ ।
ढिकुटी र अबैध मिटर व्याज मौलाउँदो
पर्वतको कुस्मामा लामो समयदेखि ढिकुटी व्यावसायिक बन्दै आएको छ । केही व्यक्तिले त केही सहकारीहरुले समेत संस्थागत रुपमै अबैध ढिकुटी संचालन गर्दै आएका छन् । ढिकुटी र मिटर व्याज आँफैमा गैर कानूनी धन्दा भएपनि कुस्माका प्रतिष्ठित व्यावसायिदेखि सामान्य व्यक्तिहरु समेत ढिकुटी पेशामा संलग्न रहेका छन् ।
अहिले कुस्मामा १ लाख देखि १० करोडसम्मका ढिकुटीहरु व्यावसायिक रुपमा संचालन हुँदै आएका छन् । समस्या नपरेसम्म प्रहरीसम्म नपुग्ने भएका कारण ढिकुटीबाट कमाउने र ठगिनेहरुको रेकर्ड प्रहरीसँग पनि छैन । प्रहरीले गैरकानूनी काम भएपनि अहिलेसम्म कुनै कदम चाल्न नसक्दा व्याजको आशामा नागरिकहरु ठगिने क्रम बढ्दो छ भने केही व्यक्ति मालामाल त केहीको उठीबास हुनसक्ने खतरा बढ्दै गएको छ ।
यस्तै कुस्मामा केही पैसावालहरु र सहकारीहरुको मुख्य काम मिटर व्याज असुली रहेको छ । मिटर व्याजबाट ठगिने र समस्यामा पर्नेहरुको सूची ठूलै भएपनि समस्यामा पर्ने डरले बाहिर आउन सकेको पाईँदैन ।
के हो मिटरब्याज ?
३० लाख रुपैयाँ आवश्यक परेको व्यक्तिलाई सुरुमै ब्याजबापत २० प्रतिशत (६ लाख) रकम कटाएर ऋण दिइन्छ । त्यसपछि प्रत्येक महिना पुन ३० लाखकै १० प्रतिशत (३ लाख) का दरले ब्याज तिर्नुपर्छ । १ वर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ । यसरी ३० लाख रुपैयाँ सापटी लिएको व्यक्तिले सुरुमै ६ लाख कटाएर २४ लाख रुपैयाँ मात्रै पाउँछ । वर्षभरि उसले ३० लाखको मासिक ३ लाखका दरले ३६ लाख र सुरुमै तिरेको ६ लाख गरी ४२ लाख रुपैयाँ त ब्याज मात्रै तिर्नुपर्छ ।
ऋण दिनेले यसरी ब्याजबापत पाएको रकम प्रहरी र प्रशासनलाई समेत दिने गरेको र प्रहरीकै संरक्षणमा कारोबार हुने गरेको स्रोत जनाउँछ । अवैध मिटरब्याज र ढुकुटी सञ्चालक निर्बाध यो कारोबार गरिरहेका छन् । प्रहरीले मासिक रूपमा मोटो रकम लिने गरको बताईन्छ । प्रहरी मात्र होइन, राजनीतिक दलका नेताहरूको पनि यो कारोबारमा संरक्षण छ ।
आवश्यक पर्दा जति पनि चन्दा दिने मिटर ब्याज ढुकुटी कारोबारीका कारण सयौंको सर्वस्व गुमेको छ ।कतिपयले पैसा लिन पहिला नै कम धितोमा जग्गा पास गरेर दिने गरेको र पछि जग्गा समेत जफत हुने गरेको पाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछाने कारबाहीको कुनै कानुनी आधार नभएको बताउँछन् । मिटर ब्याज र ढुकुटीका दुबै अवैध र गैरकानूनी काम हो’ उनले भने, ‘ढुकटी र मिटर ब्याजको कुनै लिखत प्रमाण हुँदैन, सबै कारोबार नगदमा हुने भएकाले कारावाही गर्न समस्या छ ।




