Print

सेनाको सूचिमा ‘भारतीय एजेन्ट’ पर्वतमा १५ जना, धौलागिरीमा को को ? (नाम सहित)

१९ भदौ, पर्वत । नेपाली सेनाले तयार पारेको नेपाली ‘भारतीय एजेन्ट’मा पूर्वप्रधानमन्त्रीदेखि कवि र गायक सम्मका नाम समेटिएका छन्।

नेपाल लाइभले प्राप्त गरेको उक्त दस्ताबेजमा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, सूर्यबहादुर थापासम्मलाई ‘भारतीय एजेन्ट’का रुपमा औंल्याइएको छ। बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको भने सूचीमा नाम छैन।

सूचीमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, रामवरण यादव, विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रदीप गिरी, मोहनबहादुर बस्नेत, अर्जुननरसिंह केसी, रमेश लेखक, मोहमद अफताव आलम लगायतको नाम समावेश छ।

त्यसैगरी, एमालेबाट वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, शंकर पोखरेल, रवीन्द्र अधिकारी, राजेन्द्र पाण्डेलगायत नेताको नाम छ। पञ्चायत पृष्ठभूमिका कमल थापा, दिपक बोहोरा लगायतको पनि नाम समेटिएको छ।

तराई मधेसका नेताहरु विजयकुमार गच्छदार, बद्रीप्रसाद मण्डल, जयप्रकाशप्रसाद गुप्ता, मृगेन्द्रप्रसाद सिंह, पदमनारायण चौधरी, राजेन्द्र महत्तो, रामेश्वर राय यादव, महेन्द्र यादव, विमल श्रीवास्तव, सर्वेन्द्रनाथ शुक्ला, हृदयेश त्रिपाठी, रामजनम चौधरीलगायतको नाम छ।

सैनिक सूचीमा विभिन्न पेशाकर्मीको नाम पनि उल्लेख छ। पत्रकारमा चन्द्र भण्डारी झापा, हरिभक्त शर्मा संखुवासभा, रेवतीरमण सुवेदी भोजपुर, केदार सुवेदी भोजपुर, हरि घिमिरे धनकुटा, शशीशरण झा धनुषा, हरिहर विरही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, चन्द्रलाल झालगायतको नाम छ।

त्यसैगरी, पूर्व आइजिपी मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, रविन्द्रप्रताप शाह (तत्कालीन एसएसपी, पछि आइजिपी र हाल सांसद), तत्कालीन एआइजी सच्चिदानन्द सिटौला, अनन्तराम भट्टराई, साहित्यकार कमलमणि दीक्षित, डा तुलसी भट्टराई, मानवअधिकारवादी सुशील प्याकुरेल, डा सुन्दरमणि दीक्षित, कवि विष्णुविभू घिमिरेसमेतको नाम छ। कानुन व्यवसायीमा सुशील पन्त, कृष्णप्रसाद भण्डारी, रामनारायण बिडारी लगायतको नाम सूचीमा समेटिएको छ।

यो सूची सेनाको गुप्तचर निकाय डिएमआइ (डिरोट्रेक्ट अफ मिलिटरी इन्टेलिजेन्स) ले २०६० साल माघमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा तयार पारेको हो। सूचीमा थापाको नामको पछाडि ‘प्रम’ लेखिएको छ भने गिरिजाप्रसाद कोइरालाको नामका अगाडि ‘भूतपूर्व प्रम’ लेखिएको छ।

सूचीमा माओवादीका चल्तीका नेताको भने नाम छैन। माओवादी भूमिगत रुपमा सशस्त्र युद्ध गरिरहेको र दरबारले उससँग मिलेर मूलधारका दलहरुलाई समाप्त पार्न वार्ता गरिरहेकाले पनि माओवादी शीर्ष नेतृत्वको नाम सूचीमा नपरेको त्यसबेलाका एक उच्च सैनिक अधिकृतले बताए। जिल्ला तहका केही माओवादी नेताका नाम भने सूचीमा समेटिएको छ।

त्यसबेला दरबारका तर्फबाट माओवादीसँग वार्ता गरिरहेका जर्नेल दीलिप रायमाझी नै डिएमआई प्रमुख थिए। उनकै अग्रसरतामा यो सूची तयार भएको हो। भारतीय गुप्तचर संस्था ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ) सँग साँठगाँठ भएकाहरु सूचीमा समेटिएको सैनिक स्रोतको दाबी छ। अञ्चल र जिल्लागत रुपमा सूची तयार पारिएको छ।

भारतको प्रभावमा पर्ने भनेर चिनिएका नेता मात्र नभई सामान्य मानिसको पनि सूचीमा नाम समेटेर सेनाले निकै अनुसन्धान गरी सूची तयार पारेको भान दिएको छ। तर सूचीमा अधिकांश नाम पूर्वाग्रही ढंगले समेटिएको स्पष्ट देखिन्छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘सफ्ट कू’ गरी शासन सञ्चालनमा आफ्नो सक्रियता देखाउन थालेपछि राजनीतिक दल, विभिन्न पेशाकर्मीहरु आन्दोलनमा उत्रिएका थिए। त्यसैले सेनाले लोकतन्त्रका पक्षमा कलम चलाउने लेखक, कविको समेत नाम हालेको छ। त्यससँगै तयार पारिएको सूचीमा सेनाले छानी–छानी राजाविरोधी नाम हालेको देखिन्छ।

सूचीमा समावेश सुशील कोइराला र वामदेव गौतमलाई भारतले जहिले पनि आफूविरोधी र पाकिस्तान पक्षधरका रुपमा चित्रित गर्दै आएको छ। भारतीय गुप्तचर संस्थाले तयार पारेको भन्दै ‘पाकिस्तान्स एन्टी–इन्डिया एक्टिभिटिज इन नेपाल’ शीर्षकमा सन् २००० जुन १२ मा इन्डिया टुडेको वेबसाइटमा राखिएको ७८ पृष्ठ लामो रिपोर्टमा सुशील कोइराला, वामदेव गौतम लगायत करिब १ सय ५० जना नेता, व्यापारी, कर्मचारी, सुरक्षाकर्मीलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइ (इन्टर सर्भिसेस इन्टेलिजेन्स) एजेन्टको अभियोग लगाइएको छ। तर, तिनै कोइराला र गौतम सेनाको सूचीमा समेटिएका छन्।

केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीको हत्या गर्ने उद्देश्यले भारत राज्य प्रायोजित गुण्डाबाट २०६७ फागुन २६ मा केन्द्रीय कारागारमै गोली प्रहार भएको थियो। युनुसमाथि गोली प्रहार गर्ने सहज वातावरण बनाउनमा त्यसबेला नेपालस्थित भारतीय दूतावासका ‘रअ’ का दोस्रो तहका अधिकारी सुब्रतो दास नै सक्रिय रहेको कुरा उक्त घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनमै उल्लेख छ।

समितिले कूटनीतिक उन्मुक्तिका कारण पक्राउ गरी कारबाही चलाउन नमिल्ने भएकाले दासलाई ‘पर्सना नन ग्राटा’ भनी देश निकाला गर्न सुझाव दिएको थियो। दासले केन्द्रीय कारागारमै आएर अन्तर्राष्ट्रिय जगतमै कुख्यात अपराधी चाल्र्स शोभराजलाई भेटेर युनुसको गतिविधि निगरानी गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ। उनै युनुसलाई समेत सेनाले ‘भारतीय एजेन्ट’को सूचीमा राखेको छ।

सेनाको सूचीमा विश्लेषक झलक सुवेदी र उनकी पत्नी लक्ष्मी कार्की सुवेदीको समेत नाम छ। दुवै राजतन्त्रविरोधी आन्दोलनमा सक्रिय थिए। प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएकी कार्कीलाई २०४६ फागुनमा प्रहरीले निर्मम कुटपिट गरी जेल हालेको थियो। निकै दिनसम्म उनको स्थिति सार्वजनिक नभएपछि बाहिर अनेक हल्ला चले। ती हल्ला चिर्न तत्कालीन रानी ऐश्वर्यले आफ्ना दूतका रुपमा शान्ति थपलियालाई टेलिभिजन टिमसहित कार्कीलाई भेट्न पठाएकी थिइन्। तर, कार्कीले थपलियालाई हप्काएर पठाइदिएकी थिइन्। यसै घटना बाहिर ‘लक्ष्मी कार्कीले रानी ऐश्वर्याको मुखमा थुकिदिइन्’ भन्नेसम्मको हल्ला भएको थियो।

राज्यको चरित्र कसरी निर्माण भएको छ र निरंकुश राज्य संयन्त्रले आफ्नो शासन टिकाउन कतिसम्म हर्कत गर्न सक्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न पनि यो सूची सार्वजनिक गरिएको हो। सेनाले शाहीकालमा तयार पारेको ‘भारतीय एजेन्ट’को सूचीः
धवलागिरी
पर्वत:

जसमती गुरुङ — नेपाली कांग्रेस
लालकाजी गुरुङ — नेपाली कांग्रेस
इच्छाबहादुर गुरुङ — राप्रपा
विकास गौचन — एमाले
देव पौडेल — एमाले
डिल्लीराम शर्मा — नेपाली कांग्रेस
अर्जुन जोशी — नेपाली कांग्रेस
नवराज गुरुङ — नेपाली कांग्रेस प्रजातान्त्रिक
रामचन्द्र शर्मा — नेपाली कांग्रेस प्रजातान्त्रिक
याम शर्मा पौडेल — नेपाली कांग्रेस
इन्दु शर्मा — नेपाली कांग्रेस
दिवाकर शार्मा — नेपाली कांग्रेस
क्षेत्रबहादुर गुरुङ — राप्रपा
डम्बरबहादुर मल्ल— राप्रपा
देवेन्द्र मल्ल — राप्रपा

बाग्लुङ:

ओमकार प्रसाद गौचन — नेपाली कांग्रेस
विष्णुबम मल्ल — नेपाली कांग्रेस
गोविन्द प्रसाद कंडेल — माओवादी
गोविन्द शर्मा — जनमोर्चा
चित्रबहादुर केसी — जनमोर्चा
जगदीश उपाध्याय — नेपाली कांग्रेस
गणेशबहादुर थापा — नेपाली कांग्रेस प्रजातान्त्रिक
जगदिश ढकाल — माओवादी
रत्ना शेरचन — नेपाली कांग्रेस
जित बहादुर क्षेत्री — राप्रपा
धर्मेन्द्र विश्वकर्मा — माओवादी

म्याग्दी:

दिलबहादुर केसी —  नेपाली कांग्रेस प्रजातान्त्रिक
रेशम बानियाँ — नेपाली कांग्रेस प्रजातान्त्रिक
टेकहादुर बानियाँ — नेपाली कांग्रेस प्रजातान्त्रिक
लालचन्द्रलाल भण्डारी — राप्रपा
भीमप्रसाद गौचन — राप्रपा
हरिप्रसाद शर्मा — माओवादी
देवेन्द्र भण्डारी — माओवादी
लालबहादुर केसी — माओवादी
हिराबहादुर विश्वकर्मा — माओवादी
गोपाल बानियाँ — एमाले
चन्द्र बानियाँ — एमाले
रामचन्द्रराज भण्डारी — एमाले
भगवान श्रेष्ठ — एमाले

मुस्ताङ:

नरबहादुर हिराजन— राप्रपा
भीमप्रसाद शेरचन— एमाले
रोमी गौचन — नेपाली कांग्रेस
निर्मल गौचन — नेपाली कांग्रेस
विकास तुलाचन — नेपाली कांग्रेस

-नेपाल लाइभ अनलाईनमा पत्रकार सरोजराज अधिकारीले खोज गर्नुभएको समाचार साभार ।