१० भदौ, मुस्ताङ । जिल्लाको टुकुचेमा निर्माण सम्पन्न भएको १३.६ मेगावाटको थापाखोला जलद्यिुत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। विद्युत् उत्पादन भएसँगै भदौको अन्तिम साता आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी पनि भइरहेको सञ्चालक कम्पनी माउण्ट कैलाश इनर्जी प्रालिका प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिए।
उनका अनुसार मुस्ताङ जिल्लालाई २ मेगावाट विद्युत् मात्र खपत हुने भएकोले बाँकी रहेको ११.६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो। थासाङ गाउँपालिका–१ मा उक्त आयोजनाले टुकुचे हिमालबाट बगेको पानीलाई बाँध बनाई ३ किलोमिटर क्षेत्रमा जलाशय निर्माण गरिएको छ। जलाशयबाट १८ सय ३३ मिटर भूमिगत सुरुङ र ७ सय ५० मिटर लामो पाइपलाइन मार्फत पानीलाई टर्बाइनमा खसालिएको छ।
आयोजनाले विद्युत् वितरणका लागि मुस्ताङको तल्लो भेग कोबाङ र म्याग्दीको दानामा सब स्टेसन निर्माण सम्पन्न गरिसकेको छ। आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने जनाएको छ। शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरिसकेको छ।
२ अर्ब ४४ करोड अनुमानित बजेटमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत भने २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। भौगोलिक जटिलता, समयमै निर्माण सम्पन्न नहुनु, प्राविधिक पक्ष फेरबदल भइरहेका कारण लागत बढेको पनि प्रबन्ध निर्देशक खडकाले जानकारी दिए।




