Print

म्याग्दीमा १ सय ५२ मेगावाटको जलविद्युत आयोजना निर्माण तीब्रगतिमा

१० भदौ, पर्वत । म्याग्दी जिल्लामा अहिले जलविद्युत आयोजना निर्माणमा सक्रियता देखिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङबाट करिव १ सय ५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेको छ । दानामा निर्माणधिन अवस्थामा रहेको २ सय २० केभी विद्युत प्रसारण लाइनको निर्माण कार्य तिब्र गतिमा अगाडि बढेपछि जलविद्युत आयोजना निर्माणले समेत तीब्रता पाएको छ ।

जलविद्युत उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म अनुमतिपत्र ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम सुरू गरेका छन् । नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम सुरू भएपछि स्थानीयले रोजगारको अवसर पाएका मात्र छैनन्, जिल्लाको आर्थिक कारोबार समेत बढेको छ । नारच्याङमा रोर्वट्स इर्नजी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत आयोजनाको २३ सय मिटर लामो टनेलमा ९ सय ७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टक लगायतका निर्माण कार्यले तिब्रता पाएको छ ।

म्याग्दीबासीको सक्रियतामा सुरू भएको ५ मेगावाट घलेम्दी खोला जलविद्युतको दुवैतर्फबाट १७ सय मिटर सुरुङ जोडिएको छ । आयोजनाले आगामी चैत्र महिनाभित्र परिक्षण उत्पादन गर्ने गरी इन्टेकतर्फ ड्याम, खोला परिवर्तन, डिसेन्डर बेसिन, को करिव ६० प्रतिशत काम सकिएको छ । निलगिरि खोला हाइड्रो पावरले ६२ र ३८ मेगावाटको आयोजनाले सडक, मजदुरलाई आवासगृह लगायतका संरचना निर्माण सुरू गरेको छ ।

अन्नपुर्ण बेसक्याम्पको फेदमा ड्याम राख्ने तयारी गरिएको आयोजनाबाट हुवाखोला देखी छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगाावाट उत्पादनको लक्ष्य राखिएको छ । त्यस्तै ५ मेगावाटको रेलेखोलाले समेत सर्वे, पानी जाँच लगायतका काम थालेको छ । स्थानीयले जलविद्युत आयोजनालाई अनावश्यक माग तेर्साउने, अवरोध गर्ने लगायत काम नभएपनि ठुला आयोजनाबाट अपेक्षाकृत सहयोग नभएको गुनासो गरेका छन् ।

जग्गा अतिग्रहण सहित विभिन्न काम पुरा गरेपनि खारेजीमा परेको २ सय ६५ मेगावाटको कालिगण्डकी गर्जले छिमेकी जिल्ला मुस्ताङको सिमाना घाँसाबाट नारच्याङको घरापसम्म सुरूङमार्ग बनाएर जलविद्युत निर्माण गर्ने योजना बनाएको छ । हाईड्रो सोलुसनले अग्रसरता लिएको आयोजना समेत नारच्याङमै पर्छ । जिल्लाका पाँचवटा गाउँपालिका मध्ये आन्तरिक स्रोतमा अन्नपूर्ण अब्बल मानिन्छ ।