२४ साउन, पर्वत । नेपालमा वेरोजगारीको दर बढेपछि पछिल्लो समय युवाहरुको विदेशीने दर बढिरहेको छ । खासगरी युरोप र कोरियामा पछिल्लो समय युवाहरुको आकर्षण बढेको पाइन्छ । खाडी मुलकमा जाने नेपालीको संख्या पनि ठूलो छ । नेपालीहरु खाडी मूलकमा गएर ठूलो मेहनत गरेर धन कमाउने गरेका छन ।
उता, कोरिया पुगेपछि मासिक लाखौ आम्दानी हुने भएपछि भाषा परिक्षा दिने र नाम निस्के पछि कोरिया जानेको संख्या पर्वतमा पनि ठूलो छ । तर धन कमाउन गएका सवै सकुशल भने फर्केका छैनन । रोजगारीका लागि ३ बर्ष अगाडि कोरिया पुगेका जिल्लाको कुश्मा नगरपालिका वडा ११ का राजकुमार विकको कोरिया स्थित ख्यागिँदो पुछनी शहरको एक फर्निचरमा मेसिनमा पेलिएर मृत्यु भयो । गत जेठमा उनको मृत्यु भएको हो । त्यसको करिब २ महिना पछि फलेवास नगरपालिका २ थापाठानाका विकास श्रेष्ठ कम्पनीले विदा नदिएको भन्दै आफ्नै देहत्याग गरे । उनी कोरियाका छुन्जु स्थित एक कम्पनीमा कार्यरत थिए ।
यसरी युवा शक्ति विदेशिने र विदेशबाट भने काठको बाकसमा फर्कर्ने दर बढिरहँदा सरकार भने नेपालमै रोजगारीको अवस्था सृजना गर्न अझै सफल बनेको छैन ।




