२५ साउन, पर्वत । जिल्ला समन्वय समिति मुस्ताङको संयोजकमा ने.क.पा. एमालेकी छिरिङ ल्हामु गुरुङ र उपसंयोजकमा नेपाली काँग्रेसका राजेन्द्र शेरचन बिजयी भएका छन । स्वतन्त्र उम्मेद्वार लोकसाङ छोम्तेल बिष्ट (राजु) को मतले नै जि.स.स पदाधिकारी निर्धारणमा निर्णायक भूमिका खेल्ने अवस्था जारी रहेकै बेला काँग्रेस, एमाले र बिष्टबीच भएको आपसी समझदारी अनुसार पदीय भागवण्डाका निर्वाचनमा मतदान भएको हो ।
जिल्ला निर्वाचन अधिकृत सिताराम शर्माले दिएको जानकारी अनुसार समन्वय समितिमा दावेदार रहेका काँग्रेस, एमाले, राप्रपा र स्वतन्त्र उम्मेद्वारबीच निर्वाचन शुरु हुनुपूर्वको अन्तिम समयमा मिलेर मतदान गर्ने सहमति भएको हो । एमालेलाई संयोजक सहित ३ सदस्य, काँग्रेसलाई उपसंयोजक सहित ३ सदस्य र राप्रपालाई १ सदस्यमा निर्वा्चित गर्ने गरी दलहरुले सहमति गरेपछि सोही अनुसार नै मतदान भएको हो । जस अनुसार समितिका अन्य सदस्यहरुमा राप्रपाकी कल्पना हिराचन, नेपाली काँग्रेसबाट शान्ति गुरुङ र सञ्जय थकाली तथा एमालेबाट दुर्गादेवी रसाईली र बिष्णु नेपाली परियार निर्वा्चित भएका छन । ५ गाउँपालिका रहेको मुस्ताङमा काँग्रेसका ५, एमालेका ४ र स्वतन्त्र १ गरी कुल १० जना मतदाता रहेका थिए ।
दलहरुबीच सहमती हुनु अगाडि जिसस मुस्ताङको निर्वाचन रोमाञ्चक अवस्थामा रहेको थियो । स्वतन्त्र उम्मेद्वार बिष्ट गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बन्दै दालोमे गाउँपालिकाको प्रमुखमा निर्वा्चित भएका थिए । तर, जिसस काँग्रेसको पक्षमा जानको लागि तिनै बिष्टको मत अपरिहार्य थियो । बिष्टले एमालेलाई मतदान गरेको भए जिससका सबै पदहरुमा काँग्रेस र एमालेको बराबरी ५/५ मत हुने भएकोले गोला प्रथा गर्नैपर्ने अन्तिम बिकल्प देखा परेको थियो ।
यस अघि पर्वतमा मनोहर विश्वकर्मा पौडेल सहित सवै सदस्य एमालेले जितेको थियो । उता, म्याग्दीमा भने प्रमुख पदमा देवेन्द्र केसी विजयी भएका थिए । उता बागलुङमा भने एमालेकै समर्थनमा राजमोका राजेन्द्र ढुंगाना विजयी भएका थिए ।




