Print

धन कमाएर सुखी जीवन जिउने सपना देखेर कोरिया गएका पर्वतको थापाठानाका यी युवाले किन गरे देह त्याग (सुसाइड नोट सहित)

२४ साउन, पर्वत । जिल्लाको फलेवास नगरपालिका २ थापाठाना घर भएका एक युवाले कोरियामा आत्महत्या गरेका छन । २८ बर्षिया केशव श्रेष्ठले १५ महिना अगाडि धन कमाउने र परिवारलाई सुख दिने भनेर परदेश गएका थिए । तर घर धन लिएर घर फर्कला भनेर घरको आँगन हेरेर बसेका परिवारलाई एकाएक बज्रपात परेको छ । उनले आफ्नो सुसाइड नोटमा कम्पनीले घर आउन विदा नदिएको भन्दै सवैसंग विदा मागेर देहत्यागको बाटो रोजे ।

‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । यसमा बुढी र बहिनीलाई दिनु होला’ पर्वतका केशव श्रेष्ठले आत्महत्या गर्नु अघि आफनो डायरीमा यस्तो सुसाइड नोट लेखेका छन् ।

अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा आश्चर्य मान्दै आएका श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन् । आत्महत्या गर्नु अघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन् । श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात करीव ३२ हजार रुपैया आफनो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ ।

पर्वतको थापाथाना घर भएका श्रेष्ठको स्वास्थ्यमा खराव रहेको,औषधी उपचार गर्दा पनि निको नभएको,विदा लिएर घरमा आउन चाहेको,कम्पनीले घरमा आउन विदा नदिएको,निन्द्रा नलाग्ने समस्या रहेको,निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाई र सुसाइड नोटबाट खुल्न आएको छ ।

कोरियाको छुन्जुस्थित आफनै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन । छतमा जाने भरयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी गराएका छन् । अघिल्लो दिनमा राम्रोसँग सुतेको साथी बिहान काममा जाने समयमा कोठामा फेला नपरेपछि श्रेष्ठको खोजी शुरु गरिएको थियो । बाथरुम र अन्यत्र खोजी गर्दा नभेटिएका श्रेष्ठ भरयाङमा झुण्डिएको अवस्थामा भेटिएको उनका साथीहले बताएका छन् । ती साथीका अनुसार कम्पनीको काम सजिलो थियोभने बसाई पनि सहज नै थियो । साथीले एक्कासी आत्महत्या गर्नुको कारण बुझन नसकेको ती साथीले बताएका छन् ।