२३ साउन, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आँफूखुशी काम गर्न पाउनुपर्ने भन्दै अडान लिएपछि कुश्मा नगरपालिका गतिहिन बनेको वडाअध्यक्षहरुले आरोप लगाएका छन । सोमबार बहुमत नगरकार्यपालिका सदस्य सहितका वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गरी जोशीले बहुमतको निर्णय मान्दिन भनेका कारण नगरपालिकाले गति लिन नसकेको बताएका हुन ।
काँग्रेसबाट निर्वा्चित बनेका जोशीले आँफू अल्पमतमा भएर पनि आफ्नो एकल निर्णयबाट काम गर्न पाउनुपर्ने अडान राखेका र एमाले निकट बिजयी कार्यपालिका सदस्यहरुले समग्र विकासका लागि बहुमतलाई पनि मिलाएर लैजानुपर्ने माग राखेपछि नगरकार्यपालिकाले गर्ने सवै निर्णय समस्यामा परेको वडा न ११ का वडा अध्यक्ष शिव पौडेलले बताए ।
लामो समयसम्म अनिर्णयको बन्दी बनेको कुश्मा नगरपालिको गतिरोध हटाउन नेकपा एमाले निकट वडाअध्यक्षहरुले माग गरेका हुन । साउनको तेस्रो सातासम्म पनि नगरसभा, बजेट सार्वजनिक तथा अन्य कुनैपनि गतिविधि अघि बढ्न नसकेको भन्दै नगरप्रमुखलाई बहुमतको कदर गर्दै नगरका नियमित गतिविधि बढाउन सुझाव दिएका हुन् । नगर सञ्चालनका लागि कार्यपालिकाले वनाउनुपर्ने निर्देशिकामा बहुमतको निर्णयलाई वैधानिक रुपमा मान्ने ब्यवस्था राख्न दुई तिहाई बहुमतले गरेको प्रस्ताव जोशीले अस्विकार गरेपछि नगरको अनिर्णयको बन्दीगृह बनेको वडाअध्यक्ष पौडेले बताए ।
सम्मेलनमा बोल्दै वडा नं. ११ का वडा अध्यक्ष शिब प्रसाद पौडेलले बहुमत भएपनि सबै कुरा मिलाएर लैजान पहल गरिएको भएपनि जोशीकै हठका कारण नगरपालिका डेडलकको अवस्थामा पुगेको बताए ।
निर्देशिका पास नभएपछि बजेट नीति तथा कार्यक्रम भने अगाडि बढाउनुपर्ने आफूहरुको मागमा समेत नगरप्रमुख जोशी उदासिन रहेको वडा न ७ का अध्यक्ष सुवास पौडेलले बताए । उनले लोकतान्त्रिक विधिको सर्वोच्च निकाय बहुमतीय आधार भएकाले त्यसलाई अस्विकार गरी तानाशाही प्रवृत्ती नगरप्रमुख जोशीले देखाउन खोजेको आरोप समेत लगाए ।
स्थानीय तहको निर्वाचनका क्रममा नगर कार्यपालिकामा बहुमत ल्याएको एमालेले स्थानिय विकास मन्त्रालयवाट आएको प्रावधानको नमुनालाई परिवर्तन गरी स्थानिय तह अनुकुल बनाउन सुझाव दिएका छन् । उनिहरुले एकलौटी पेलेर जाने नभई सहमति गरेर अघि बढ्न समेत नगरप्रमुखलाई सुझाव दिएका छन् । पौडेलले एकलौटि निर्णय गर्ने अधिकार जनताले नदिएको भन्दै बहुमतीय सहमती विना कुनै निर्णय प्रक्रिया अगाडि बढने ठोकुवा समेत गरे ।
नगर सभा नहुँदा कर संकलन गर्न, कर्मचारीहरुलाई तलब खुवाउन र अन्य विकास निर्माणका काम ओझेलमा पर्दै गएको पनि उनिहरुको भनाई छ । सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनिहरुले तत्काल समस्याको समाधान गरी नगरका नियमित गतिविधिहरुलाई अघि बढाउन आग्रह गरेका हुन् ।
उता नगरप्रमुख जोशीले भने मिलाएर लैजान पहल गरेको भएपनि सहमती हुन नसक्दा समस्या भएको बताएका छन् । नगरप्रमुख जोशीले आफ्नो हात बाँधेर काम गर भन्ने प्रबृत्ति गलत रहेको जिकिर गर्दै आएका छन । उनले अरु तहमा बनाइएका निर्देशिकालाई हुबहु कुश्मामा पनि पारित गर्न आनाकानी गर्न नहुने तर्क गर्दै आएका छन ।




