Print

सुनचाँदी ब्यवसायीले गरे जनप्रतिनिधिलाई सम्मान

२४ साउन, पर्वत । सुनचाँदी ब्यवसायी संघ पर्वतले स्थानीय तहको निर्वाचनमा निर्वाचित जन प्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संघ मंगलबार सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको एक कार्यक्रममा सांसदद्धय अर्जुन जोशी र कल्पना चापागाई मार्फत जनप्रनिधिहरुलाई सम्मान गरेको हो ।

संघका संस्थापक सचिव समेत जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल र फलेवास नगरकार्यपालिकाका सदस्य शेरबहादुर सुनारलाई संघले सम्मान गरेको हो । सुनचाँदी ब्यवसायमै लागेका दुई जनप्रतिनिधि नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन । संघका सदस्य समेत रहेका उनीहरुको सफलतामा संघको श्रेय रहेको भन्दै संघले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै सांसद जोशीले जातीय आन्दोलनमा संघमा आवद्ध सदस्यहरुले समाज परिर्वतनमा उल्लेख्य भूमिका खेल्नसक्ने भन्दै तल्लो आर्थिक अवस्था रहेका दलितहरुको लागि सुनचाँदी ब्यवसायीले पहल गर्नुपर्ने धारणा राखे । कार्यक्रममा अर्का सांसद चापागाईले सदिऔं देखि दलित माथि नेपाली समाजमा हुँदै आएको दलनको अव अन्त्य हुन लागेको भन्दै निर्वाचित दुवै संघका सदस्यहरु दलित वर्गको भएकोमा सवैले गर्व गर्नुपर्ने भनाई राखिन ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विकास सेन्चुरी र स्वागत उपाध्यक्ष ठाकुर वि पौडेलले गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव आनन्द विकले गरेका थिए ।