Print

एमालेले टुंगायो जिल्ला समन्वय समितिका उमेदवार, संयोजकमा पौडेल र सह संयोजकमा राना (सदस्यहरुको सुचि सहित)

११ साउन, पर्वत । जिल्ला समन्वय समिति पर्वतको संयोजकमा मनोहर वि. पौडेल र सह संयोजकमा यामकुमार रानालाई उमेदवार बनाउने निर्णय गरेको छ । आगामी साउन १७ गते हुने समितिको निर्वाचनमा एमालेले पौडेल र रानालाई उमेदवार बनाउने निर्णय गरेको हो । समितिको निर्वाचनमा एमालेको स्पष्ट बहुमत भएका कारण पौडेल र राना स्वतः समन्वय समितिको संयोजक र उपसंयोजकमा विजयी हुने भएका छन ।

बुधबार नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न भएको एमाले जिल्ला सचिवालयको वैठकले अन्य समितिका अन्य ७ जना सदस्यको नामावली पनि टुंगाएको छ । सदस्यहरुमा शर्मिला नेपाली (पैयू), विष्णुराम विक (महाशिला), नन्दलाल सुवेदी (मोदी), ज्ञानबहादुर भण्डारी (कुश्मा), ओमप्रकाश रेग्मी (जलजला), कविता विक (फलेवास), विष्णुमाया पौडेल (विहादी) लाई सदस्य बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले पर्वत न्यूज डटकमलाई जानकारी दिए ।

मंगलबार दिउँसो देखि शुरु भएको जिल्ला सचिवालय वैठकले बुधबार मात्रै सहमतीका साथ उमेदवारहरुको टुंगो लगाएको अध्यक्ष गिरीले बताए । गिरीका अनुसार एमाले भित्रको सवै अन्तरविरोधहरु समाधान भएकाले उमेदवार छनोट प्रक्रियामा स्थानीय तहको निर्वाचनमा कुनै पनि समूहगत लबि र वैमनश्यता छैन । आगामी १७ गते हुने निर्वाचनमा एमालेका ९ जना उमेदवार बनेका छन ।

समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले आफ्ना उमेदवारहरुको नाम सार्वजनिक गरेको छैन । कांग्रेसले उमेदवार दर्ता नगरेमा भने एमालेका उमेदवारहरु नै निर्विरोध हुनेछन । कुल १४ जना मतदाता रहेको जिल्ला समन्वय समितिमा एमालेका ८ जना र नेपाली कांग्रेसका ६ जना मतदाताहरु रहेका छन ।