४ साउन, पर्वत । जिल्लाका दुईजना सांसद मार्फत भित्रिएको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकममा चरम दुरुपयोग भएको पाइएको छ ।
असार मसान्तसम्म खर्च हुन नसकेको रकमलाई रकमान्तर गरी विना टेण्डर सामानहरु खरिद गरिएपछि रकम दुरुपयोगको खुलासा भएको हो ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम क्षेत्र न २ अन्तर्गत प्राप्त ३ करोड मध्ये सासंद विकास लम्सालले मनोमानी ढङगले रकम खर्च गरेका हुन । पूर्व निर्धारित योजनाहरुबाट उनले शिर्षक मिलाएरै अन्य योजनाहरुमा रकमान्तर गरेको बुझिन्छ । विनियोजीत रकम मध्ये २० लाख रुपैंया भन्दा बढि रकमबाट उनले असार महिनाको अन्तिम साता मात्रै पोल, जाली र पाइप खरिदमा रकमान्तर गरेको जिल्ला समन्वय समितिले जनाएको छ । उपलब्धि विहिन योजनाहरुमा रकम विनियोजन गरेको आरोप खेपेका लम्साल पुनः विवादीत बनेका छन ।
यसैगरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम पर्वत क्षेत्र न १ मार्फत विनियोजन भएको ३ करोड रुपैंयाको खर्च प्रक्रियामा पनि सांसद अर्जुन जोशीले अपारदर्शीता देखाएका छन । विनियोजन भएका शीर्षकहरुमा परिर्वतन गरी रकम खर्च गरेको आरोप लागेका सांसद जोशीले ३५ लाख रुपैंया रकम असारको अन्तिम साता मात्रै रकमान्तर गरेको जिल्ला समन्वय समितिले जनाएको छ । विभिन्न योजनाहरुमा रकम फ्रिज हुने भएपछि दुवै सासंदले रकमान्तर गरेको सांसदहरुको नीजि सचिवालयले बताएपनि नियम विपरित उनीहरुले कमिसनको नाउँमा रकमान्तर गरेको बताइन्छ । खुल्ला टेण्डर प्रक्रिया समेत अबलम्बन नगरी राज्यको कानून विपरित रातारात रकमान्तरण गर्ने कार्य कानून विपरित भएको जिल्ला समन्वय समितिका एक अधिकृतले बताए । विना टेण्डर सामानहरु खरिद गर्न नपाईने आर्थिक प्रशासन नियमावलीमा उल्लेख भएपनि एउटा शिर्षकका लागि खोलीएको टेण्डरमा अर्को शिर्षकको रकमले खरिद गर्नु दुरुपयोग भएको कर्मचारीहरुलेनै स्वीकार गरेका छन् ।
यसैगरी सांसद विकास कोष अन्तर्गत सामानुपातीकका सांसद कल्पना चापागाई मार्फत भित्रिएको ५० लाख भने सवै खर्च भएको बताइएको छ । उनले भने विनियोजीत गरेको शीर्षक रकमान्तर गरेकी छैनन । उता, सांसद विकास कोष वापत क्षेत्र न १ मा प्राप्त ५० लाख र क्षेत्र न २ मा प्राप्त ५० लाख रुपैंया पनि सांसद जोशी र लम्सालले मनलाग्दी खर्च गरेका छन । कार्यकर्ता रिझाउनका लागि उनीहरुले उपलब्धि विहिन योजनाहरुमा उक्त रकम खर्च गरेका छन । साना र टुक्रे योजनाहरु मार्फत कार्यकर्ता माझ स्थापीत हुनका लागि रकम विनियोजन गरेका उनीहरुले विनियोजन गरेका योजनाहरुबाट समग्र जिल्लाको विकास अगाडि नबढने भन्दै चर्को आलोचना विगतका देखि नै हुदै आएको छ ।
गत साल पनि सांसदहरुको रकम फ्रिज भएको थियो । सांसदहरुले आफै फर्जि बिल बनाएर लाखौ रुपैया अनियमितता गरेको सामाचार सार्वजनिक भएको थियो । बर्षेनी सांसद संयोजक रहने गरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र सांसद विकास कार्यक्रम वापतको करोडौ रकम आउने तर उक्त रकमको खर्च प्रक्रिया पारदर्शी नहुँदा अनियमितता थप मौलाएको छ । नागरिक समाज मौन बस्ने र उनीहरुले विनियोजन गरेका रकमको अनुगमन गर्ने निकाय नहुँदा अनियमितताले प्रश्रय पाउदै गएको छ । खवरदारी गर्ने र अनुगमन तथा सुपरिक्षण गर्ने निकाय राजनैतिक प्रभावमा पर्दै जाँदा स्थानीय स्तरको विकासमा समेत त्यसले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।




