२७ असार, पर्वत । सोमवार माछा मार्ने क्रममा हर्पन खोलामा डुवेका युवाको खोजीमा गएको प्रहरी टोलीका एक सदस्यको ज्यान गएको छ । मंगलवार विहान बेपत्ता युवाको शब देखेपछि निकाल्न खोलामा पसेका प्रहरी जवानको डुवेर ज्यान गएको हो ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत रेस्क्यु टिमका सदस्य २६ बर्षिया प्रहरी जवान बल बहादुर कुवँरको डुवेर ज्यान गएको हो । सोमवार खोलामा डुवेर बेपत्ता मध्ये पोखरा ३ नदिपुरका ललित पुनको शब देखेपछि निकाल्न खोलामा पसेका कुँवर आफै डुवेका थिए । खोजीका क्रममा सुरुमा खोलामा पसेका उनले खोलाको पिँधमा शब देखेपछि पानीको सतहमा आएर उद्धारमा संलग्न अन्यलाई जानकारी गराई पुन डुवेका थिए । त्यसपछि वाहिर ननिस्किएपछि उनलाई अन्य उद्धार टोलीले खोजी गरी वाहिर निकालेको थियो ।
पर्वतको कुश्मा नगरपालिका १२ का कुँवर यसअघि पनि विभिन्न समयमा पोखराको सेती नदी, डेभिड फल्स लगायतका स्थानमा खसेका तथा तालमै डुवेका ब्यक्तिहरुको उद्धारमा समेत संलग्न थिए ।
पानीमा डुवेर गम्भिर घाइते भएका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको कास्की प्रहरीले जनाएको छ । बेपत्ता मध्ये मंगलवार विहान ८ बजे ललितको शब निकालिएको थियो । त्यसको झण्डै डेढ घण्टापछि साढे ९ बजे बेपत्ता अर्का युवा इन्द्र इन्द्र पुनको पनि शब भेटिएको थियो ।
फेवातालको मुहान हर्पन खोलामा सोमवार दिउसो माछा मार्न गएका ७ मध्ये पाँच जना सकुसल रहेपनि पुन द्धय डुवेर बेपत्ता भएका थिए । सोमवार साझ सम्म खोजी गर्दापनि नभेटिएपछि मंगलवार विहानैबाट पुन खोजी सुरु गरिएको थियो । त्यसका लागि रेस्क्यु टिमका प्रहरी सहायक निरिक्षक रामु भण्डारीको कमाण्डमा ८ जना रेस्क्यु टोली र सशस्त्र प्रहरीको टोली र अन्य प्रहरी खोजी तथा उद्धारमा संलग्न भएका थिए ।




