जलविद्युत, चक्रपथ र एकिकृत भू उपयोग नीति बन्दै
९ असार, पर्वत । स्थानीय तहको निर्वाचन सकिएको एक महिना वित्न नपाउँदै पर्वतको फलेवास नगरपालिकामा सम्बृद्धिको योजना निर्माण कार्य शुरु भएको छ । सदरमुकामसंगै रहेको फलेवासमा थुप्रै सम्भावनाहरु रहेपनि त्यसको समुचित प्रयोग अझसम्म पनि हुन नसकेको भन्दै निर्वाचित पदाधिकारीहरु नगरपालिकालाई सम्बृद्ध बनाउने भन्दै दीर्घकालीन योजना (मास्टर प्लान) निर्माण गर्न शुरु गरेका हुन ।
नेकपा एमालेको तर्फबाट विजयी भएका नगरपालिकाका प्रमुख पदमपाणि शर्माको सक्रियतामा विशेषज्ञ टोली मार्फत दीर्घकालीन योजना बनाउने र आगामी ५ बर्ष भित्र फलेवासलाई सम्बृद्ध नगर बनाउने गरी कार्य शुरु भएको छ । नगरप्रमुख शर्माका अनुसार चुनावमा प्रस्तुत भएका प्रतिबद्धता बमोजीम पहिलो चरणमा दीर्घकालीन योजना निर्माणको काम शुरु भएको हो । सम्बृद्धिको योजना आगामी बजेट देखि नै लागू गर्ने गरी काम अगाडि बढेको उनले बताए । नेकपा एमालेका जिल्ला सचिव समेत रहेका शर्माले आफ्नो नेतृत्वकालमा फलेवासबासीले हालको फलेवास भन्दा फरक सम्बृद्ध फलेवास देख्न पाउने गरी आफूले काम गर्ने बताए ।
फलेवासलाई सम्बृद्ध बनाउन आफूले देखेका सपनाहरु पुरा गर्न सवैको सहयोगको अपेक्षा गर्दै उनले पहिलो चरणमै शिक्षा क्षेत्र सुधारको लागि आफूले काम गर्ने गरी योजना गरेको बताए । नगरक्षेत्रका सवै सरकारी विद्यालयहरुमा आगामी शैक्षिक शत्र देखि १ कक्षाबाट नै अंग्रेजी माध्यममा अध्यापनको लागि अनिवार्य गरिने भन्दै शर्माले शैक्षिक विकास विना अरु विकास असम्भव हुने समेत बताए । नगरपालिकाबासी र नगरपाालिकाको समेत लगानी रहनेगरी कालीगण्डकी नदीमा ६ सय मेघावाट क्षमताको जलाशय युक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने गरी योजना गरिएको दावी गरे । खुल्ला चिडियाखाना (ओपन जु) को अवधारणालाई सार्थक बनाउन कार्किनेटा देखि डहरेलेकसम्म पर्यटकीय पैदल मार्ग बनाउने योजना शुरु गरिसकिएको उनले जानकारी दिए ।
पर्वत न्यूज डटकमसंग कुरा गर्दै शर्माले फलेवासका सवै वडाहरुको वडा कार्यालयसम्म पुग्ने कच्चि सडकको स्तरोउन्नती गरी पहिलो दुई बर्षमा कालोपत्रे गर्ने गरी गुरुयोजना निर्माण हुन लागेको समेत बताए । शर्माले कालीगण्डकी लोकमार्गको कामलाई द्रूत गतिमा अगाडि बढाउने गरी केन्द्रिय सरकारसंग समन्वय गर्ने र आफ्नो कार्यकालमा नगरका सवै वडालाई छुने गरी रिङ रोड निर्माणको काम अगाडि बढने समेत बताए ।
ग्रामीण परिवेशमा रहेको नगरपालिकाको ब्यवस्थापनको लागि अर्को महत्वपूर्ण कार्यको रुपमा भू उपभोग नीति निर्माण गर्ने गरी गुरु योजना निर्माण भईरहेको उनले जानकारी दिए । एकिकृत बस्ती ब्यवस्थापन, भूगोल अनुसारको कृषिजन्य वस्तुहरुको उत्पादन र सम्भावीत बजारीकरणलाई योजनाबद्ध ढङगले अगाडि बढाइने समेत उनले जानकारी दिए ।




