९ असार, पर्वत । वेपत्ता भएको १० दिन पछि भेटिएको वेवारिसे शवलाई परिवारले नारायण पौडेलको भएको स्विकार गरे । स्थानीय एक नीजि विद्यालयमा अध्यापनरत कुश्मा नगरपालिका वडा न १ घर भएका पौडेल जेठ २५ गते १० बजेर १५ मिनेट पछि सम्पर्कमा थिएनन ।
उनले अध्ययापन गर्दै आएको विद्यालयबाट अभिभावकसंग कुटपिटको विषयमा माफ माग्न बोलाएको केहि बेर पछि वेपत्ता भएका उनलाई पर्वत प्रहरी र आफन्तले खोजी गरीरहेका थिए । खोजीको क्रममा कालीगण्डकी नदीमा भेटिएको सडेको शवलाई परिवारले घाँटीमा लगाएको मालाका आधारमा पहिचान गरेपनि थप पुष्टिका लागि प्रहरीले शवलाई डिएनए परिक्षणको लागि पठाएको छ । पर्वत प्रहरीले पौडेलकै शव भएको पुष्टि नगरेपनि बागलुङ जिल्ला प्रहरीले पौडेलकै शव भएको पुष्टि गरेको समाचार सार्वजनिक भएको थियो । यस विषयमा पर्वत प्रहरीले आधारिक रुपमा यस्तो अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोध
जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. १ पांगथर स्थायी वतन भई कुश्मा न.पा. वडा नं. ५ मेलमिलाप चोकमा डेरा गरी बसी ऐ वडा नं. ९ कटुवा चौपारी स्थित् आइबल एकेडेमीमा पढाउने वर्ष २० को नारायण पौडेल मिति २०७४/०२/२५ गते बिहान अन्दाजी १०:१५ बजेबाट घरपरिवारसँग सम्पर्क विहीन भएकोले आफन्त लगायत वरपर खोजतलास तथा सम्पर्क गर्दा कहीं कतै फेला नपरेकोले खोजतलास गरी पाउँ भनी मिति २०७४/०२/२८ गते हुलिया सहित यस कार्यालयमा निवेदन प्राप्त भएको सम्बन्धमा यस कार्यालयबाट तत्काल प्रहरी टोली खटी निजको डेरा कोठामा गई हेर्दा शंकास्पद अवस्था देखिएको हुँदा निजको खोजतलासको लागि पचहत्तरै जिल्लामा हुलिया परिपत्र समेत गरिएको । सोही क्रममा निजले पढाउने विद्यालयका प्रिन्सिपल, निजले पढाउने विद्यार्थीका अभिभावकहरु, निज हराउनु भन्दा पहिला भेटेका व्यक्तिहरु लगायतलाई यस कार्यालयमा झिकाई सोधपूछ तथा अनुसन्धान गर्दै गरेको अवस्थामा मिति २०७४/०३/०४ गते जिल्ला बागलुंग जैमिनी न.पा. वडा नं. ८ बेलबगर स्थित् कालीगण्डकी नदीको तीरमा सडी गली सकेको अवस्थामा एक मृत शव फेला परेकोले शंका लागी निज नारायण पौडेलका आफन्तलाई खबर गरी उक्त स्थानमा पठाउँदा पहिचान गर्न नसकी फिर्ता भएकोले लाश सडी गली सकेकोले पोष्टमार्टम गर्न नसकिने मुचुल्का खडा गरी जिल्ला प्रहरी कार्यालय बागलुंगबाट खटिएको टोलीले त्यहीं नदी किनारको बगरमा गाडेर फर्की आएको ।
मिति २०७४/०३/०६ गते पुन: निज नारायण पौडेलको आफन्तहरुले उक्त मृत शरीर नारायण पौडेलकै हुन सक्ने भनी शंका व्यक्त गरेपछि सो दिन पनि निज नारायण पौडेलको बाबु लगायत अन्य आफन्तहरु शव भएको स्थानमा गई जि.प्र.का. पर्वत तथा बाग्लुंगबाट गएको टोली समेतको सहयोगमा गाडिएको स्थानबाट झिकी हेर्दा निजको बाबु समेतबाट पहिचान हुन नसक्ने अवस्था भएपछी लाशको घाँटीमा लगाएको गोलीको माला, जनै लगायतका वस्तुहरु निकाली घरमा आई निजको आमालाई देखाउँदा माला आदिको आधारमा उक्त लाश हराइरहेको नारायण पौडेल कै हो भन्ने खुल्न आएपछि भोलिपल्ट मिति २०७४/०३/०७ गते बागलुंग प्रहरीले आफन्तहरुको सहयोगमा लाशलाई पुन: गाडिएको स्थानबाट झिकी आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने क्रममा सडी गली सकेको अवस्थाको लाशबाट विशेषज्ञको अभावमा मृत्युको कारण तथा अनुसन्धानको लागि आवश्यक अन्य विवरण खुल्न नसक्ने महसूस गरी पर्वत तथा बागलुंग अस्पतालका चिकित्सकहरुसंग समेत समन्वय गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौका वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीसंग सम्पर्क गर्दा समेत प्राप्त सुझाव अनुसार लाशलाई autopsy (पोष्टमार्टम) का लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको । साथै शव पहिचानमा अझ पनि दुविधा नै भएकोले र अनुसन्धान भनेको ९९% सही भएर १% मात्र पनि शंका उत्पन्न भएको अवस्थामा सो १% विषय पनि निवारण गर्नुपर्ने विषय भएकोले शत प्रतिशत confirmation को लागि डी.एन.ए. (DNA) परीक्षणबाट मात्र सम्भव हुने भएकाले DNA परीक्षणको लागि नमूना (sample) निकालिदिन समेत अनुरोध गरिएको ।
यसै क्रममा मिति २०७४/०३/०९ गते सो मुद्दाको सम्पूर्ण मिसिल समेत जि.प्र.का. बागलुंगबाट यस कार्यालयमा प्राप्त भएको । त्यस्तै अनुसन्धानको सिलसिलामा सम्मानित पर्वत जिल्ला अदालतबाट अनुमति लिई घटनासंग सम्बद्ध हुनसक्ने सबै व्यक्तिहरुको आवश्यक Call Details Record अध्ययन गर्ने देखि लिएर उपलब्ध श्रोत साधनको उपयोग गर्दै अनुसन्धानका सम्पूर्ण उपायहरुको अवलम्बन भैरहेको । त्यस्तै पीडित नारायण पौडेलको खोजतलास गर्ने क्रममा प्रहरी कुकुर झिकाई सहयोग लिन खोज्दा प्रहरीलाई खबर गर्नु पूर्व नै निजको डेरा कोठामा अन्य व्यक्तिहरु समेत प्रवेश गरिसकेकाले contamination को कारणले त्यसको औचित्य नहुने सुझाव समेत प्राप्त भएकोले सो कार्य भने गर्न नसकिएको ।
अनुसन्धान र तहकीकातको क्रममा यस जिल्ला प्रहरी कार्यालय पर्वतबाट घटनासंग सम्बन्धित सम्पूर्ण सम्भावनालाई दृष्टिगत गरी हरेक कोणबाट निष्पक्ष ढंगले अनुसन्धान गर्दै रहेको व्यहोरा अवगत गराउंदै यस दु:खद घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न समेत अनुरोध गर्दछौं । साथै अनुसन्धानको क्रममा पोष्टमार्टम तथा DNA test को रिपोर्ट आदि प्राप्त नहुँदासम्म प्रहरी पनि कुनै निस्कर्षमा पुग्न नसक्ने हुँदा सम्पूर्ण स्थानीयवासीहरुलाई प्रहरीले गरेको अनुसन्धान प्रक्रियामा कुनै शंका उपशंका नलिईकन विभिन्न अफवाह र हल्लाको पछाडी नलागी बरु अनुसन्धानलाई सहयोग पुग्न सक्ने कुनै सूचना, जानकारी भएमा प्रहरीलाई उपलब्ध गराइदिनुहुन समेत आग्रह गर्दछौं ।
प्रहरीसंग सम्पर्क नराखी आफूखुशी अनधिकृत रुपमा बजारमा आउने हल्ला र अफवाहले अनुसन्धानलाई प्रभावित पार्ने मात्र नभई पीडित परिवारलाई पनि थप पीडा पुग्ने सम्भावनालाई समेत दृष्टिगत गर्नु भई धैर्यताका साथ अनुसन्धान प्रक्रियाबाट निस्कने परिणामको प्रतीक्षा गर्नुहुन समेत सम्पूर्ण आदरणीय आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरुमा हार्दिक अपील गर्दछौं ।




