Print

कुश्मामा निर्माणधिन ‘सेफ हाउस’ यसरी बन्यो अलपत्र

१५ जेठ, पर्वत  । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधिन ‘सुरक्षित घर विगत एक वर्षदेखि अलपत्र बनेको छ ।
हिंसा पिडित बालबालिका तथा महिलाहरुलाई आश्रय दिनका लागि एक वर्ष अघिदेखि निर्माण थालिएको ‘सुरक्षित घर’ को भवन अलपत्र परेको हो । आश्रयस्थल निर्माणका लागि पर्याप्त आर्थिक श्रोत संकलन नुहँदा बेवारिसे बनेको हो ।

जिल्लामा हिंसा प्रभावित महिला तथा वालवालिका सम्बन्धी समस्याहरु धेरै आउने र उनीहरुलाई कानूनी उपचार दिनुपर्ने बेलासम्म अल्पकालीन आश्रयस्थलमा राख्नुपर्ने भएकोले सुरक्षित घर निर्माण गर्न थालिएको थियो ।

तत्कालीन प्रहरी नायव उपरीक्षक गंगा पन्तको विशेष अगुवाईमा शुरु भएको आश्रयस्थल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा सांसद विकास कोष, जिल्ला विकास समिति, कुश्मा नगरपालिका र अन्य सरोकारवालाहरुबाट रकम संकलन गरेर पुर्णता दिने भनिएपनि कतैवाट पनि आर्थिक रकम नजुट्दा समस्या परेको हो । प्रनाऊ पन्तले एक वर्षभित्रै उक्त सुरक्षित घर सम्पन्न गर्ने लक्ष्य राख्नुभएको भएपनि उहाँका लगत्तै सरुवा भएपछि काम अबरुद्ध भएको थियो ।

निर्माणका लागि सांसद अर्जुनप्रसाद जोशीले रु ८९ हजार र सांसद कल्पना चापागाईले रु ३ लाख रुपैंया उपलब्ध गराएको भएपनि यस आर्थिक वर्षमा भने जिल्लाका तीन वटै सांसदहरुबाट हालसम्म सहयोग उपलब्ध नभएको कोषाध्यक्ष कमलनाथ पोख्रेलले बताउनुभयो ।
उहाँका अनुसार विभिन्न संघसंस्था, सरकारी कार्यालय तथा व्यक्तिबाट रकम उठाउने अभियान शुरु गरेपनि समाजकै प्रवुद्ध व्यक्तिहरुबाट बोलिएको रकम हालसम्म उपलब्ध नभएकोले निर्माण कार्यमा समस्या भएको हो ।

तत्कालिन समयमा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी युवराज पौडेलले नागरिक समाजको उपस्थितिमा दलका प्रमुख तथा प्रतिनिधि, सांसद तथा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बोलेको रु.१० लाख रुपैंया मध्ये १ लाख रुपैंया मात्र दिनुभएको थियो । भने रु ९ लाख रुपैंया हालसम्म पनि उपलब्ध गराइको छैन । हाल उनी सरुवा भइसक्नुभएको छ । जिल्ला विकास समिति समेत खारेज भइसकेको छ । जिल्लाकै एकमात्र सुरक्षित घर निर्माणका लागि सरकारी जग्गा खोजी गरी करिब १ करोड ५२ लाखको लागतमा निर्माण प्रारम्भ गरिएको भएतापनि स्थानीय दलहरु तथा सांसदहरुनै उदासिन देखिएका कारण निर्माण कार्य प्रभावित हुन पुगेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो ।

हालसम्म करिव रु.२८ लाख रुपैंया बोलकबोल भएको भएपनि आधा भन्दा बढि रकम उठ्न नसकेकोले निर्माण कार्य थप प्रभावित भएको कोषाध्यक्ष पोख्रेलले गुनासो गर्नुभयो । कुश्माबजारको बडागाउँ स्थित नारी शिल्पकला केन्द्रको आडमा निर्माणाधिन भवन हाल डवल टाइपिङ सम्मको काम सकिएर अलपत्र परेको हो । जिल्लाकै एकमात्र निर्माणाधीन महिला तथा वालवालिका आश्रय स्थल ( सुरक्षित घर) निर्माणका लागि नागरिक समाजले जत्तिकै चासो दल तथा सरोकारवाला सरकारी निकायले दिन सके हिंसा प्रभावितहरुले बेलैमा राहात पाउने महिला अधिकारकर्मीहरुको भनाई रहेको छ ।