पर्वत २० वैशाख । बस्तीको पुछारमा एक्लो घर, वरिपरी सुन्तलाको बगैचा । उमेरले ६७ नाघेका बृद्ध बगैँचामा दिनभर परिश्रम गरिरहेका भेटिनुहुन्छ । झण्डै २८ वर्ष भारतीय सेनामा काम गरेर सुवदार पदसम्म पुगेका बृद्ध जीतबहादुर गुरुङ अहिले सुन्तला खेतीमा रमाइरहनुभएको छ ।
दक्षिण पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङका बृद्ध गुरुङ विगत एक दशकदेखि व्यावसायिक सुन्तला खेतीमा लाग्नुभएको हो । भारतीय सेनावाट अवकास प्राप्त उनको पेन्सन, पोखरामा सुविधासम्पन्न घर, छोराहरु वैदेशिक रोजगारीमा भएपनि उनलाई गाउँको माया निकै लाग्ने गर्दछ । जेठो छोरा अमेरिका, कान्छा छोरा खाडी मुलुकमा रोजगारीमा छन् ।
श्रीमति, छोरा, बुहारी अहिले गाउँ छाडेर पोखरा बस्न लागिसके ।
गुरुङलाई पनि पोखरा जान निरन्तर दवाव दिइरहन्छन् तर उनि तिनै सुन्तलाको बगैचा कुरेर बसिरहनुभएको छ ।
अहिले उहाँको बगैचामा झण्डै पाँच सय वोट सुन्तला रहेका छन् । छिमेकीहरु सुविधा खोज्दै शहरबजार तर्फ गएपनि जीतबहादुरलाई भने गाउँ छाड्नै मन लागेको छैन । आर्थिक रुपमा समृद्ध परिवार भएपनि आफुलाई गाउँकै मायाले र सुन्तला बगैचाको मायाले छाड्न मन नलागेको उहाँ भन्नुहुन्छ ।
सुन्तला विक्रिवाट उनले बार्षिक चार लाख रुपैया आम्दानी हुने बताएका छन् । तर बगैसम्म सडकको सुविधा नहुँदा सस्तो मुल्यमा सुन्तला विक्रि गर्नुपरेको उनले गुनासो गरे । आफ्नो घरसम्म जाने झण्डै तीन किलोमिटर सडकको सुविधा नहुँदा व्यापारीहरुले सस्तो मुल्यमा सुन्तला लैजाने गरेको उहाँले बताउनुभयो । सडकको सुविधाका लागि पटक पटक माग गरेको भएपनि कुनै सुनुवाई नभएको उहाँले गुनासो छ । सडक सुविधा भएको भए बार्षिक चार लाख भन्दा बढि कमाई हुने थियो तर अहिले दुई लाख रुपैया भन्दा कमाई नहुने गरेको उहाँले बतायनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुन्तला पकेट क्षेत्रमा रुपमा समावेश भएको भोक्सिङ सुन्तला कृषकका अध्यक्ष समेत रहेका गुरुङले खाली रहेको जमिनमा अझै बगैचा थप गर्ने योजना बनाउनुभएको छ । यस वर्ष उक्त गाउँमा झण्डै चार हजार सुन्तलाका विरुवाको माग भएको र गुरुङले मात्रै झण्डै एक हजार विरुवा पु¥याउने लक्ष्य गुरुङले लिएका छन् ।
अन्तिम अवस्थामा पनि यहि बगैचामा रमाउने, बगैचाबाटै कमाउने धोको छ उहाँ भन्नुहुन्छ । पछिल्लो समय उनको सिको गर्दै गाउँमा अन्य युवाहरुले पनि व्यवासायिक सुन्तला खेती गर्न थालेका छन् । सुन्तला मात्रै हैन उनले कुटानी पिसानी मिल र व्यावसायीक वाख्रापालन पनि गर्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रका सुन्तला कृषकहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जीतबहादुर जिल्लाकै नमुना सुन्तला कृषक भएको बताउनुभयो । उहाँले उक्त क्षेत्रका कृषकको आवश्यकता र माग बमोजिम आवश्यक सामाग्री, औजार र आर्थिक तथा सुन्तला विरुवा अनुदानमा सहयोग गरिएको बताउनुभयो ।




