१९ वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काभ्रेबाट विजयी शुरुवात गरेका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै एमालेले विजयी सुरुवात गरेको हो ।
एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।
दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।
सिन्धुपाल्चोकमा पनि विजयी सुरुवात
यसैबीच सिन्धुपाल्चोक जिल्लामा पनि एमालेले विजय सुरुआत गरेको खबर प्राप्त भएको छ । स्थानीय नेताका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णा कुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।




