८ वैशाख, पर्वत । पर्बतमा हाल सम्म १० जनाले मात्र हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको ३ साता सम्म १० जनाले मात्रै इजाजत प्राप्त हतियार बुजाएका छन् । सुरक्षा समितिको आग्रहपछि पर्बतमा १० जनाले मात्र इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका हुन ।
जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रहबमोजिम सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यलयमा उक्त हतियार बुझाएको प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । बुझाएका हतियारहरु १२ बोर १ नाले बन्दुक ५ बटा, भरुबा बन्दुक ३ बटा, १२ बोर दुईनाले बन्दुक १ बटा र १ ब्रिज बन्दुक गरी लाइसेन्स प्राप्त हाल सम्म १० बटा हातहतियार जिल्ला प्रहरी कार्यलयमा बुझाइसकिएको उहाले जानकारी दिनुभयो ।
निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने उहाले बताउनुभयो । यस अघि गएको ३ साता पहिले जिल्ला प्रशासन कार्यालय पर्बतले जिल्लाका नागरिकलाई हातहतियार बुझाउन आग्रह गरेको थियो ।
कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै इजाजत प्राप्त बन्दुक, पेस्तोल, जस्ता हातहतियार निर्वाचन अवधिभरका लागि बुझाउन आग्रह गरेको थियो । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
आगामि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको छ । हातहतियार यहि बैशाख १५ गतेभित्र बुझाइसक्नु पर्ने जिल्ला प्रहरी कायलय पर्बतले जनाएको छ । –सुवास लामिछाने




