७ वैशाख, पर्वत । संविधानले गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्यको ब्यवस्था गरेको छ । संविधान मै उक्त ब्यवस्था भएपछि सोहि बमोजीम स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन आयोगले प्रमुख या उपप्रमुख मध्ये कुनै एक पदमा महिला उमेदवार प्रत्येक राजनैतिक दलले उठाउनुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । उक्त ब्यवस्थासंगै पितृसत्तात्मक नेपाली समाजमा पुरुषहरुले भने अधिकांश स्थानमा प्रमुख पदमा नै दाबी गरीरहेका छन । उता, उपप्रमुख पदमा भने महिलाहरुको दाबी देखिन्छ ।
पर्वत जिल्लाका ५ गाउँपालिका र २ नगरपालिकामा मध्ये फलेवास नगरपालिकामा बाहेक सवै नगर र गाउँपालिकामा पुरुष नेताले प्रमुख पद र महिला नेतृले उप प्रमुख पदमा दाबी गरीरहेका छन । तर, फलेवास नगरपालिकामा भने नगर प्रमुख पदमा नेतृ राधा कुँवर क्षेत्रीले दाबा गरेसंगै उप प्रमुख पदमा भने पुरुष नेताहरुले पनि औपचारिक दाबी प्रस्तुत गरेका छन ।
नेपाली कांग्रेसको तर्फबाट नेतृ कुवंरले नगरप्रमुख पदमा दाबी प्रस्तुत गरेकी हुन । महासमिति सदस्य समेत रहेकी कांग्रेस नेतृ कुवंरको दाबीसंगै उप प्रमुख पदमा नेपाल विद्यार्थी संघका अध्यक्ष मिलन सुवेदी, काँग्रेसका नेता पिताम्वर पौडेल र पूर्व महाधिवेशन प्रतिनिधी जितवहादुर नेपालीले दावी गरेका हुन ।
तीन जना पुरुष नेताहरुले उपप्रमुख पदमा दाबी प्रस्तुत गरेको यो धौलागिरी क्षेत्रकै पहिलो घटना हो । अधिकांश नगर र गाउँमा प्रमुख पदमा पुरुष र उप प्रमुख पदमा महिला रहने गरी सोहि बमोजीमको दाबी प्रस्तुत भएको छ । विहिबार फलेवास क्षेत्रमा बसेको नेपाली कांग्रेसको नगर कमिटि वैठकमा उक्त दाबी प्रस्तुत भएको हो ।
उक्त वैठकमा प्रमुख पदमा गंगाधर तिवारी, राधा कुवंर क्षेत्री, गंगाराज शर्मा, युक्तप्रसाद श्रेष्ठ, थमानसिँह थापा, कृष्ण गौडेल, शैलेन्द्र शर्मा गौडेल, ढकप्रसाद तिवारी, ख्यामवहादुर क्षेत्री, अच्चुत तिवारी लगायतको दाबाी छ ।
उता, उपप्रमुखका लागि भने रेखा गुरुङ, मिलन सुवेदी, मुना भुषाल, पिताम्वर पौडेल र जितवहादुर नेपालीको दाबी रहेको छ ।




