स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा उमेदवारहरुको आकाक्षा बढदै गएको छ । २० बर्ष पछि हुन लागेको निर्वाचनमा पार्टीहरु भित्र नयाँ र पुराना अनुहार पनि आफ्नो दावेदारी प्रस्तुत गर्न तछाडमछाड गरीरहेका छन । यसै सन्दर्भमा नेकपा एमाले पर्वतमा पनि निर्वाचनमा उमेदवारीका लागि पार्टी भित्र आन्तरीक लडाई शुरु भएको छ । यहि क्रममा २०४७ सालमा तत्कालीन मालेबाट राजनीति यात्रा शुरुगर्नु भएका नेकपा एमालेको संघिय मामिला विभागकाका सदस्य मेघनाथ सुवेदीले पनि कुश्मा नगरपालिकाको प्रमुख पदमा आफ्नो उमेदवारी दाबा गरिरहेका छन । पञ्चायती ब्यवस्थाको विरुद्धमा जनपक्षीय प्रधानपञ्च भएर राजनैतिक धरातललाई थप मजबुद बनाउँदै अगाडि बढेका सुवेदी २०४३ सालमा राजकाज मुद्धामा ७ महिना बागलुङ जेलमा समेत बसेका योद्धा हुन । नेकपा एमाले पर्वतको दुई कार्यकाल उप सचिव पद सम्हालेका सुवेदीलाई २०४६ सालको आन्दोलनमा पनि प्रहरीले सवैभन्दा पहिले नियन्त्रणमा लिएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा साविकको पिपलटारी गाविसबाट अध्यक्ष पदमा निर्वाचित सुवेदी तत्कालीन जिल्ला विकास समितिको सदस्य समेत भएका थिए । झण्डै २० बर्ष पर्वत जिल्ला कमिटिमा विताएका सुवेदीसंग आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा पत्रकार लक्ष्मण सापकोटाले गरेको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिएको छ ।
१ः मेघनाथ जी यहाँलाई स्वागत छ यो विशेष अन्तरवार्तामा
– धन्यवाद !
२. स्थानिय तहको चुनाव नजिकिदै छ यहाँको पार्टीले कस्तो तयारी गर्दै छ ?
– स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा १९ वर्षदेखिको रिक्तता समाप्त हुँदैछ । यस अर्थमा आम जनता खुसी भएका छन् र ती जनताको खुसीका लागि जसरी पनि चुनाव तोकिएकै मितिमा हुनुपर्ने कुरामा सिंगो पार्टी प्रद्धिवद्ध भएर लागिरहेको छ र चुनवामा एमालेले सबै ठाउँमा शानदार विजय प्राप्त गर्ने गरी तयारीमा जुटिरहेको छ ।
३. यहाँ लामो समय देखि नेकपा एमालेका विभिन्न पदमा रहेर राजनीति गर्नुभएको छ पछिल्लो समय स्थानिय तहको चुनावमा नगर प्रमुखमा यहाँको चर्चा छ नि ?
– हो, हजुरले जे सुन्नु भयो, सही सुन्नु भयो । मैले तानशाही पञ्चायती व्यवस्थाका विरुद्ध तत्कालीन समयमा खाइरहेको शिक्षक जागिरबाट राजिनामा दिएर जपक्षीय प्रधानपञ्चको रुपमा विजयी हासिल गरेको थिएँ । त्यतिबेला युवा जोश, जाँगरका बीच पञ्चायतका विरुद्ध थुप्रै लँडाइ लडियो । सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीको माया, सद्भाव र सहयोगका बीच धेरै उपलब्धीहरु पनि हात पारियो । २४ वर्ष जिल्ला कमिटी सदस्य लगायत जिम्मेवार पदमा रहेर काम गरेँ । त्यो बीचमा १० वर्ष पार्टीको उपसचिव अर्थात् दोश्रो जिम्मेवार व्यक्तिको रुपमा काम गर्ने अवसर मिल्यो । यही बीचमा पार्टीको तर्फबाट जिल्ला विकास समिति सदस्य भएर काम गरेँ । पार्टीले दिएका विभिन्न जिम्मेवारीहरु वहन गर्ने क्रममा अञ्चल कमिटी सदस्यको रुपमा समेत काम गरें । हाल आएर नेकपा एमाले संघीय विभागको सदस्यमा रहेर जिम्मेवारी वहन गरिरहेको छु । हाम्रो पार्टी ठूलो भएको र लामो समयसम्म चुनाव नभएका कारण आकाङ्क्षी म बाहेक पनि थुप्रै साथीहरु हुनुहुन्छ । तर हाम्रो पार्टीमा कुन व्यक्तिले टिकट पाउने भन्ने कुरा प्रधान हुँदैन आजका दिनमा । जसले पाएपनि एमालेले जित्नुपर्छ भन्ने मूल मन्त्रका साथ हामी सबै चुनावी अभियानमा लागेका छौं । मेरो मात्र एकल प्रयास होइन समग्र पार्टीको प्रयासले हामी चुनावी अभियानमा होमिइसकेका छौं । जहाँसम्म टिकट केही दिनभित्रै टुंगो लाग्छ । मैले पाएपनि अरु साथीहरुले पाएपनि हाम्रो यो अभियानमामा कुनै फरक पर्दैन ।
३. एमालेको संघिय विभागको सदस्य पनि हुनुहुन्छ, प्रदेश, केन्द्रतर्फ नगएर किन नगरप्रमुखमा आकांक्षा राख्नुभयो ?
– नेकपा एमालेभित्र व्यक्तिको चाहना भन्दा पनि पार्टीको चाहना महत्वपूर्ण हुन्छ । एमालको संघीय विभागमा रहेर केन्द्रस्तरबाटै काम गरिरहेको छु । तथापि देश, काल र परिस्थति अनुसार र अहिले १९ वर्षपछि हुन लागेको स्थानीय तह, नयाँ संविधानले प्रदत्त गरेका स्थानीय तहका अधिकार यावत कुराहरुलाई विश्लेषण गर्दा यो तह अर्थात् स्थानीय सरकार हाँक्न पनि जिम्मेवार व्यक्तिको आवश्कता पर्छ । मलाई पार्टीले जहाँ, जुन जिम्मेवारमा खटाएपनि गर्न सक्छु । त्यसैले केन्द्र, प्रदेश जस्तै यो निकाय पनि महत्वपूर्ण रहेकोले पार्टीले अवसर तथा जिम्मेवारी दिएमा कुनै कसर बाँकी नराखी आफ्नो जिम्मेवारी पूरा गर्छु । जहाँसम्म चाहनाको कुरा छ, पार्टीभित्र थुप्रै कमरेडहरु हुनुहुन्छ जिम्मेवारी वहन गर्न सक्ने क्षमता भएका । सबै कमरेडहरुलाई पार्टीले फरक फरक ठाउँमा जिम्मेवारी दिनुपर्ने हुन्छ । त्यसैले व्यक्तिगत रुपमा म यहाँ, उहाँ भन्ने विषय गौण हुन् । जहाँ जहाँ पार्टीले सेटल गर्छ अर्थात् जिम्मेवारी दिन्छ त्यहाँ त्यहाँ आफूहरु दत्तचित्त भएर लाग्नु एमालको कर्तव्य हो ।
४. तपाईको दलले वैशाख दोस्रो साताभित्र सवै तहमा उम्मेदवारी पनि टुंगो लगाउँदै छ, के यहाँले कुश्मा नगरप्रमुखको टिकट पाउनुहोला त ?
– हाम्रो पार्टीभित्र आकांक्षी धेरै हुनुहुन्छ, यो स्वभाविक पनि हो । ठूलो पार्टी र धेरै क्षमतावान् साथीहरु भएको ठाउँमा यो हुनु कुनै नौलो विषय पनि होइन । यद्यपि मलाई पार्टीले अघि सारेको खण्डमा अन्य आकांक्षी साथीहरुले समेत आफूलेनै टिकट पाएको महसुस गर्नुहुनेछ र उहाँहरुले यदि टिकट पाउनुभयो भने पनि म आफूले नै टिकट पाएको महसुस गरेर अघि लाग्नेछु । हाम्रो पार्टीमा आकांक्षी धेरै भएपनि टिकट नपाएकै भरमा मनमुटाव हुने अवस्था छैन, हामी सबै आकांक्षीको चाहना एमालेले जितोस् भन्ने नै हो । एमालेलाई कसरी जिताउने भन्ने विषयमा हामी घनिभूत छलफलमा जुटिरहेका छौं । जहाँसम्म मेरो व्यक्तिगत विषय छ म सम्भानाको नजिक भन्ने लाग्दछ ।
५. कुश्मा नगरपालिकाको प्रमुखका लागि यहाँलाई पार्टीले टिकट दिने आधारहरु के के छन् त ?
– म पञ्चायतकालदेखि खाइरहेको शिक्षक जागिरबाट राजिनामा दिएर जनपक्षीय प्रतिनिधिको रुपमा राजनीतिमा होमिएको कार्यकर्ता भएको र गाउँदेखि सदरमुकाममा रहेर आजसम्म एमालेका हरेक अभिभारालाई काँधमा बोकेर जनताका सुखदुःखमा प्रत्यक्ष समाहित भएको छु । ग्रामीण जनजीवन बुझेको र विहान बेलुका डोको नाम्लोको भरमा चुल्हो चौको जोड्नेहरुको व्यथा, किसानका समस्या, दलित र महिला, आदिवादी, जनजातिका पीरमर्का नजिकबाट बुझेको एउटा कृषकको छोरा भएको नाताले मलाई ती सबै क्षेत्रका तमाम् मतदाताहरुको सद्भाव छ । अतः यी सबै कुराका आधारमा मलाई पार्टीले टिकट दिनेछ भन्ने अपेक्षा गरेको छु । यद्यपि म बाहेकका पनि साथीहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ, क्षमतावान् हुनुहुन्छ । एमालेमा जस्ले टिकट पाएपनि चुनाव जित्ने सम्भावना बढ्दै गएको छ ।
६. पार्टी राजनीतिनै छाडेर बिदेश गएर फर्किनुभएको आरोप यहाँमाथि लाग्ने गर्छ, अलि बढि दुःख पाएका र राजनीतिमै सक्रिय भएकालाई टिकट दिनुपर्छ भन्नेहरु पनि छन् नि तपाईको पार्टीमा ?
– म पार्टी कामकै शिलशिलामा विदेश भएको थिएँ । त्यहाँ मेरा केही आफन्तजन भएको कारण केही समय बसाई लम्व्याउनु पर्यो । बस्ने क्रममा पछि केही प्राविधिक समस्याहरु आइलागे । जसका कारण म थप केही समय बस्नुपर्ने बाध्यता आइलाग्यो । यो सबै विषय मैले पार्टीमा अवगत गराएको थिएँ । यो विषयमा पार्टीमा जानकार छ, साथीहरु सबैले बुझ्नुभएको छ । पार्टीले यी तमाम् विषयलाई नजिकबाट हेरिकन त्यस विषयको गाम्भीरर्यता बोध गरिकन मलाई पुनः जिम्मेवारी दिइएको हो । हाम्रो पार्टीभित्र यी विषयमा कसैको आग्रह पूर्वाग्रह छैन । विपक्षीहरुले हामीभित्र खेल्न सकिन्छ कि भन्ने नियतबाट यो विषय बाहिर ल्याएको हो । पार्टी एकढिक्का छ ।
७. यदि टिकट पाईहाल्नु भयो भने पनि तपाईलाई नगरप्रमुखमा भोट किन हाल्ने ?
– कुश्मा नगरपालिका कस्तो बनाउने ? कसरी आर्थिक रुपमा समृद्ध बनाउने ? कसरी विकासको मूल प्रवाहमा जोड्ने भन्ने ड्रिम योजना एमालेसँग छ । म त एउटा पात्र मात्र हुँ । समग्र एमालेले नै यसको लिडिङ गर्छ । यहाँको विकासको लागि, आर्थिक समृद्धिको लागि र आम जनताको जीवस्तर माथि उकास्नका लागि नेकपा एमालेलाई भोट दिनुको विकल्प छैन । हाम्रो केन्द्रीय घोषणा पत्रका आधारमा रहेर स्थानीय तहमा के गर्ने भन्ने स्पष्ट भिजन एमालेले तयार पारेको छ । सो लक्ष्यमा पुग्नका लागि सूर्यमा मतदान गर्न जनताहरु लालायित भइरहेका छन् ।
८. यहाँको पार्टी एमालेभित्र पनि गुट उपगुट चर्को छ फरक गुटका नेताहरुले यहाँलाई प्रस्ताव गर्लान नगर प्रमुखका लागि ? असन्तुष्टहरुलाई कसरी मिलाउँनुहुन्छ ?
– जुन पार्टीभित्र अन्तरसंर्ष हुँदैन, फरक मत राखिँदैन त्यहाँ तानशाही प्रवृत्ति हावी हुन्छ । हाम्रो पार्टीभित्र धेरै क्षमतावान्, विचारले खारिएका र माझिएका साथीहरुको बाहुल्यता छ । यसै कारण मत, फरक मत आउँछन् र ती मत, विचारकाबीच घनिभूत छलफल गराएर एउटा निस्कर्षमा पुग्ने गरिन्छ । विकास निर्माणका सवलामा होस् वा नीतिगत सवलामा विभिन्न चरणमा छलफल हुने गर्दछन् । पार्टीभित्रका आन्तरिक चुनावमा देखिएका अन्तरसंघर्षका विषयहरु पार्टी बाहिरको चुनावमा देखिँदैनन् । अहिले यो विषयमा एमाले प्रष्ट छ । हामी प्रष्ट छौं । पर्वतमा मात्र होइन देशभर एमाले एउटा छ, त्यहाँभित्र धेरै क्षमता भएका प्रतिभावान् साथीहरु छन् । सबैले सबै ठाउँमा टिकट पाउँदैनन् । तर एमालेले जसलाई टिकट दिन्छ उसैको पछि सबै साथीहरु लाग्छौं, एउटै जिम्मेवारीमा सबै साथीहरुले अवसर नपाएर पनि फरक फरक ठाउँ र समयमा सबै साथीहरुले जिम्मेवारी पाउनुहुन्छ । यस मानेमा हामीभित्र असन्तुष्ट हुने कुनै आउँदैन ।
९.यदि टिकट पाएर स्थानिय तहको चुनावमा जाँदा यहाँले के के एजेण्डालाई प्राथमिकता दिनुहुन्छ ?
– यो विषय हाम्रो केन्द्रीय घोषणा पत्रलाई आधार मानेर नेकपा एमाले नगर कमिटीले तय गरिरहेको छ । सबै विस्तृतमा पढ्नलाई घोषण पत्र छिट्टै सार्वजनिक हुँदैछ । तहाँ उल्लेख भएका विषयहरु हामी जस्तोसुकै मूल्य चुकाएर भएपनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
१०. अहिले त प्रतिष्ठा र योगदान भन्दा पनि पैसा खर्च बढि गर्नेले चुनाव जित्छ भन्छन् यहाँले कति खर्च गर्ने सोच बनाउनुभएको छ ?
–हाम्रो पार्टी पैसाको खोलो बगाएर चुनाव हाँक्ने संस्कारबाट आएको पार्टी होइन । अहिलेका जनताले राम्ररी बुझेका छन् । पैसा खुवाएर भोट माग्न हिँड्नेलाई जनताले भोट हैन राम्रो जवाफ दिनेछन् । पैसा दिएर भोट किन्न सकिन्छ भन्ने संकुचित मानसिकता बोकेका मान्छेले विकास दिन सक्दैनन्, जनताका अधिकार स्थापित गराउने कुरामा चुक्छन् भन्ने भन्ने कुरा जनताले बmुेका छन् । सो विषयमा हामीले गाउँगाउँमा चेतना भरेका छौं । हिजो जस्तो अवस्था आज छैन । हिजोका जनता र आजका जनतामा आकाश, जमिनको फरक छ । आज सबै मानिस एक न एक हिसावले अगाडि आएको छ । अतः पैसाको खोलो बग्ला तर जनताको अभिमतलाई खोलाले बगाउँदैन । हाम्रो पार्टी लेविबाट चल्ने पार्टी हो । आर्थिक पक्ष व्यवस्थापनका लागि पार्टीले केही कमरेडहरुलाई जिम्मेवारी दिएको छ । चुनावका लागि चाहिने जति खर्चका जुटाउन पार्टी तयार छ, हामी तयार छौं । यतिखेर, आज नै यति नै खर्च हुन्छ भनेर किनान गर्न सकिने अवस्था छैन ।
११. तपाईको पक्षमा बहुमत आउने वा आफुले जित्ने आधारहरु के के दिन सक्नुहुन्छ त मतदाताहरुलाई ?
– श्रमजीवि जनताकाका पक्षमा एमालेले गरेका काम, वृद्धवृद्धा, अपांग र अशक्त, महिला आदिवासी, जनजातिका पक्षमा एमालेले लिएको नीति, राष्ट्रिय स्वाधिनता र अग्रगमनका पक्षमा एमालेले लिएको अडान यी सबै कुरा नै मेरो अर्थात् एमालेको चुनाव जित्ने आधारहरु हुन् । यसका अलवा एमालेले जिल्लामा गरेका विकास निर्माणका कार्य र मैले पञ्चायतकालदेखि पार्टीको पक्षमा गरेको संघर्ष, जनतासँग गरेको हातेमालोनै एमाले विजयीका आधारहरु हुन् । यदि नगरवासी मतदाताले आफ्नो अमूल्य मतदान गोप्यरुपमा आफूले गर्न पाउने अवस्था प्रत्येक बुथमा रह्यो भने एमालेको जित सुनश्चित छ । यसका लागि राज्य लगायत सरोकारवाला निकायले पलपहल खवरदारी गरिरहनु जरुरी छ । आशा छ अहिलेका जनता सचेत छन्, उनीहरुको चेतनास्तर माथि छ । त्यसैले आफ्नो मत खोसिन वा दुरुपयोग हुनबाट आफै रोक्न सक्षम हुनेछन् ।
१२. अन्त्यमा नगरवासीहरुलाई के भन्न चाहानुहुन्छ ?
– नेकपा एमालले लिएको नीतिगत विचार, समृद्ध र समुन्नत राष्ट्र बनाउने योजना, राष्ट्रियताका सवालमा देखाएको चट्टानी अडानका कारण एमालेको विजयी सुनिश्चित छ । देश एमालेमय भएको छ । देशभर नेकपा एमाले पहिलो शक्ति मात्र होइन ठूलो मतान्तरका साथ अग्र भागमा उभिने अवस्था छ । त्यसैले नयाँ संविधानले स्थानीय तहमा व्यापक अधिकार दिएको सन्दर्भमा अब बन्ने स्थानीय तह, यहाँको विकास निर्माण र नीतिगत सवालमा फेरि पनि जनताहरु ठगिन दिनु हँुदैन । आफू ठगिनबाट जोगिन र समृद्ध कुश्मा नगर बनाउन नेकपा एमालेको उम्मेवारलाई विजयी गराउन म समस्त बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्दछु । –धौलागिरी सञ्चार साप्ताहिकबाट




