६ वैशाख, काठमाडौं । प्रमुख पाँच दलले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन कुनै हालतमा नसार्ने निर्णय गरेका छन् ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले वैशाख ३१ गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिए ।
‘चुनाव हुन्छ, एकै चरणमा वैशाख ३१ गते हुन्छ, कुनै पनि हालतमा चुनाव सर्दैन्,’ देउवाले भने– ‘मधेसी मोर्चा आउँछ भने दुई चरणमा गर्न सकिन्छ ।’
बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने सहमति प्रमुख दलबीच भएको जानकारी दिए । ‘मधेसी मोर्चासँग सहमति गर्ने जिम्मेवारी सत्तारुढ दललाई नै दिएका छौं,’ उनले भने– ‘एमालेले रचनात्मक भुमिका खेल्छ, मोर्चालाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्छाै । तर, वैशाख ३१ को निर्वाचन कुनै हालतमा रोकिन्न् ।’




