५ वैशाख, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजार देखि ज्ञादी क्षेत्र जोड्ने गरी अर्को अग्लो झोलुंगे पुल निर्माण हुने भएको छ । यस अघि कुश्मा देखि ज्ञादी जोड्ने नेपालकै अग्लो स्थानमा पहिलो पल्ट कुश्मा ज्ञादी झोलुंग पुल गत ६ बर्ष अगाडि निर्माण भएको थियो । सोहि स्थान भन्दा झण्डै २ किलोमिटरको दुरीमा अर्को झोलुंगे पुल निर्माण हुन लागेको हो ।
कुश्मा नगरपालिका वडा ७ खरेहा देखि र कुश्मा नगरपालिका ८ (कटुवाचौपारी) स्थित अधिकारी फाँट जोड्ने गरी उक्त झोलुंगे पुल निर्माणको तयारी थालिएको हो । पुल निर्माण कार्यका लागि मंगलबार झोलुंगे पुलको क्षेत्रमा सहयोग गर्दै आएको टिविएसयू/आरटिएपि र जिल्ला प्राविधिक कार्यालयको प्राविधिक समूहले स्थलगत सर्भेक्षण र निरिक्षण गरेको छ ।
यस अघि तयार भएको डिजाइन स्टिमेट उपर भौगोलिक अवस्थाको विस्तृत अध्ययनका लागि उक्त टोलीले झोलुंगे पुल निर्माण स्थलमा थप अध्ययन गरेको झोलुंग पुल निर्माण समितिका अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार कुश्माको खरेहा देखि ज्ञादी क्षेत्रको अधिकारी फाँट जोड्ने गरी उक्त पुल निर्माणको चरण अगाडि बढेको छ । तयार भएको डिजाइन स्टिमेट उपर विस्तृत अध्ययन गरी टेण्डर प्रक्रियामा जाने प्रयोजनका लागि उक्त अध्ययन कार्य भएको अधिकारीले पर्वत न्यूज डटकमलाई जानकारी दिए । उक्त पुल झण्डै १ सय २८ मिटर उचाईमा निर्माण हुनेछ । मोदीखोलाको खोँच माथि निर्माण हुन लागेको उक्त पुलको लम्बाई झण्डै ३ सय ५९ मिटर रहेको छ ।
कुल २ करोड २० लाखको अनुमानित लागतमा उक्त पुलको निर्माण कार्य अगाडि बढाइएको छ । झोलुंग पुल निर्माणका लागि पहिलो चरणको लागत इन्टिमेट सहितको डिटेल सर्भे सकिएको उनले जानकारी दिए ।
सदरमुकाम कुश्मा बजारबाट ज्ञादी क्षेत्र जोड्ने कुश्मा ज्ञादी झोलुंग पुल पछि उक्त क्षेत्रकै सर्वसाधारणको सहजताका लागि उक्त पुल निर्माण कार्य अगाडि बढाईएको हो । यसले खरेहा क्षेत्रबाट पिपलटारी, कटुवाचौपारी, ठुलिपोखरी, कार्किनेटा र थापाठानाका स्थानीयले प्रत्यक्ष सेवा पाउने छन ।
यो झोलुंग पुलको निर्माणसंगै कुश्मामा ४ वटा नेपालका अग्ला झोलुंग पुल निर्माण हुनेभएका छन । यस अघि कुश्मा ज्ञादी झोलुंगे पुल, बडागाँउ–कैया झोलुंगे पुल र कुश्मा–मुडिकुवा झोलुंगे पुल सञ्चालनमा छन ।





