४ चैत्र, पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ साविक खानीगाउँ र लिमिठाना गाविसको सिमानामा पर्ने लमाय खोलामा विषादी प्रयोग र करेन्ट लगाएर माछा मार्ने क्रियाकलाप बढ्न थालेको छ । लमाय खोलामा विषादी हाल्ने र करेन्ट लगाएर माछा मार्नेहरुको दैनिक जसो भिडभाड देखिन थालेको स्थानीयले जानकारी दिएका छन् ।
प्रहरीले करेन्ट लगाएर माछा मार्ने केही व्यक्तिलाई कारर्वाही गरेपनि प्रभावकारी हुन नसकेको स्थानिय वासिन्दाहरुले गुनासो छ । विषादी र करेन्टको प्रयोग बढेसँगै खोलाका सबै जलचर मर्नुका साथै पशुपक्षि र मानिसलाई समेत असर पुगेको उनीहरुको भनाई छ । कतिपय ठाउँमा प्रतिबन्धित विष्फोटक पदार्थ प्रयोग गरेर पनि माछा मार्ने गरेको पाईएको छ । दिउँसोको समयमा भन्दा पनि रातको समयमा माछा मार्नेहरुको भिड देखिन थालेको छ ।
सिङ्गो खोलामा घातक विषादी हालेर या करेन्ट लगाएर माछा मारेको भएपनि यसलाई रोक्नका लागि कसैले खासै ध्यान नदिएको स्थानिय विमल शर्माले बताउनु भयो । लुकिछिपी यस्तो विषादी प्रयोग गर्ने गरिएको भएपनि अहिलेसम्म कसैलाई पनि कारवाही भएको पाईएको छैन । खोलामा घातक विषादी प्रयोग गर्ने व्यक्तिलाई कारवाही गर्न नसकिने भएकाले पनि पटक–पटक यस्तो काम हुदै आएको स्थानिय शर्माको छ ।
यता ईलाका प्रहरी कार्यालय देविस्थानका प्रहरी प्रमुख कानेश्वर पटेलले भने खोलामा विषादी हाल्ने र करेन्ट लगाउनेवारे आफुहरुलाई अहिलेसम्म कुनै सुचना नआएको बताउँदै यस्तो गुनासो आएको खण्डमा प्रहरीले अनुसन्धान गर्ने जानकारी दिनुभयो । उहाँले त्यस्तो खवर भएमा प्रहरीलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभयो । भोली देखिनै लमायखोलामा प्रहरीले निगरानी बढाउने पटेलले जानकारी दिनुभयो । – साजन परियार




