Print

पर्वतका ग्रामीण सडकहरुमा चालु आवमा ४४ करोड रकम खर्च हुँदै

१ चैत्र, पर्वत । जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा चालु आर्थिक बर्षमा खर्च गर्ने गरी झण्डै ४४ करोड रकम विनियोजन भएको छ । ग्रामीण सडकको स्तरोउन्नती तथा नयाँ ट्राक खन्ने प्रयोजनका लागि विभिन्न निकायबाट झण्डै ४४ करोड ४६ लाख रुपैंया विनियोजन भएको हो ।

विभिन्न कार्यालयहरुबाट विनियोजन भएको रकमलाई आधार मान्दा जिल्लाको सडक सञ्जालको विकासका लागि उक्त रकम विनियोजन भएको छ । जिल्लामा लोकमार्ग र सहायक लोकमार्ग गरी जम्मा ६३.३४ कि.मी. मूख्य सडक रहेको छ । गुणस्तर अनुसार ४५.१८ कि.मी. पक्की सडक र ६०.२७ कि.मी. ग्राभेल सडक रहेको छ । जिल्ला सडक मूख्य संजाल अन्तर्गत रहेका ३२ वटा सडकको २९३ कि.मी खण्डमा जिल्ला विकास समितिले स्तरोन्नतीको काम अगाडी बढाएको छ भने साविकका ४७ गा.वि.स. र नगरपालिकामा कूल कच्ची सडक ८८०.९१ कि.मी. भन्दा बढि सडक रहेको जिल्ला समन्वय समितिको कार्यालयको रेकर्डमा उल्लेख छ ।

विभिन्न निकायका कुल खर्च योग्य रकममा झण्डै ७० प्रतिशत भन्दा बढि रकम सडक क्षेत्रमा विनियोजन हुने गरेको पाइएको छ । विनियोजन भएको रकममा भने सहि सदुपयोग नहुँदा र सडक गुणस्तरको नबनाउँदा आशातित प्रतिफल भने प्राप्त गर्न सकिएको देखिदैन । सडक सञ्जाल निर्माण गर्ने तर त्यसको स्तरबृद्धि र ब्यवस्थापनमा स्थानीय उपभोक्ता समिति र सरोकारवालाहरुले भने ध्यान दिएको देखिदैन ।
चालु आर्थिक बर्षमा दुई वटा निर्वाचन क्षेत्रका लागि प्राप्त भएको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको झण्डै ६ करोड रकमबाट २ करोड ३६ लाख रुपैंया ग्रामीण सडकको लागि विनियोजन भएको छ । पर्वत क्षेत्र न १ मा १ करोड १४ लाख र क्षेत्र न २ मा १ करोड २० लाख रुपैया रकम विनियोजन भएको देखिन्छ । उक्त रकम टुक्रे योजनाहरुमा जिल्लाका धेरै सडकहरुमा खर्च गर्ने गरी सांसदहरुको उपस्थितीमा विनियोजन भएको छ ।

जिल्लाको कुल सडक लम्बाई र कुल बजेटलाई आधार मान्दा १ किलोमिटर सडकका लागि जिल्लामा ५  लाख रकम विनियोजन भएको देखिन्छ । एउटै सडकमा धेरै निकायबाट रकम विनियोजन हुँदा धेरै सडकहरुमा भने उपभोक्ता समिति र सम्बन्धित कार्यालयका कर्मचारीहरुको मिलेमोतोमा काम भएको थुप्रै गुनासाहरु भने आउने गरेका छन ।

उता, साविकको जिल्ला विकास समिति मार्फत खर्च हुने गरी स्थानीय पूर्वाधार विशेष कार्यक्रम मार्फत १ करोड ७७ लाख र ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत ४ करोड ५६ लाख रुपैंया रकम विभिन्न सडकहरुमा विनियोजन भएका छ । ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत सडकको स्तरोउन्नतीका विभिन्न सडकहरु छन भने, पूर्वाधार विशेष कार्यक्रममा पनि सडक विस्तारका टुक्रे योजनाहरु रहेको छन ।

यसैगरी क्रमागत योजनाको रुपमा ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको ३ करोड १७ लाख रुपैंया रकम यसै आवमा खर्च गर्ने गरी विनियोजन भएको छ । साविक जिविसको आन्तरीक श्रोतबाट भने यस बर्ष २ करोड रकम विभिन्न साना र टुक्रे योजनाहरुमा विनियोजन भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

यस बर्ष अर्थ मन्त्रालयबाट विभिन्न शीर्षकको रकमलाई रकमान्तर गरी जिल्लाका विभिन्न सडकहरुमा ३ करोडक रकम विनियोजन भएको छ भने, स्थानीय विकास मन्त्रालयबाट पनि २ करोड ७५ लाख रकम विनियोजन भएको छ ।

उता, सडक डिभिजन कार्यालय मार्फत खर्च हुने गरी यस बर्ष झण्डै १५ करोड रकम विनियोजन भएको छ । सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार जिल्ला ३ वटा सडकको कालोपत्रे क्षेत्रीय स्तरका निर्वाचन क्षेत्रमा रहने दुई वटा सडकको लागि उक्त रकम खर्च हुने भएको हो । कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा सडक डिभिजनक मार्फत डिमुवा राम्जा सडक, दोविल्ला–फलेवास सडक र घुम्ति–लाम्पाटा सडक कालोपत्रे हुँदैछन । यस बाहेक निर्वाचन क्षेत्रमा विशेष सडकको रुपमा क्षेत्र न १ र २ मा गरी दुई वटा सडकका लागि गरी कम्तिमा कुल १५ करोड रकम खर्च हुनेछ ।

जिल्लाका विभिन्न गाउँपालिकाहरुमा सवैभन्दा साना र टुक्रे योजनाहरुमा अर्थ मन्त्रालयको रातो किताबमा योजनाहरु सुचिकृत भएका छन । झण्डै १ करोड ५० लाख रुपैंया विभिन्न टुक्रे योजनाहरुमा विनियोजन भएको देखिन्छ ।
उता, साविकका गाउँ विकास समितिहरुले आफ्नो गाविसलाई प्राप्त भएको अनुदान रकमबाट पनि गाउँका सडकहरुमा रकम विनियोजन गरेको देखिन्छ । औसतमा ३३ लाख रुपैंया रकम पूँजीगत खर्चका लागि प्राप्त गरेका ४७ वटा गाविसहरुबाट झण्डै ५ करोड १७ लाख भन्दा बढि रकम सडकहरुमा खर्च गर्ने गरी रकम विनियोजन गरेका छन ।

पुर्नसंरचना अघि जिल्लाको एक मात्र नगरपालिका रहेको कुश्मा नगरपालिकामा चालु आवमा झण्डै ३ करोड १८ लाख रुपैंया रकम सडकमा मात्र विनियोजन भएको छ । कार्यालयले दिएको जानकारी अनुसार विभिन्न शीर्षकहरुमा प्राप्त रकमलाई बाँडफाँड गर्दा कूल ३ करोड १८ लाख रकम सडकमा मात्र खर्च हुने गरी स्थानीय तहमा बाँडफाँड भएको देखिन्छ । उक्त रकम मध्ये नगरपालिकाले आफ्नो क्षेत्रका केहि सडकहरुमा भने कालोपत्रे गर्दैछ ।

जिल्लाको कुल सडक लम्बाई र कुल बजेटलाई आधार मान्दा १ किलोमिटर सडकका लागि जिल्लामा ३ लाख ८५ हजार रकम विनियोजन भएको देखिन्छ । एउटै सडकमा धेरै निकायबाट रकम विनियोजन हुँदा धेरै सडकहरुमा भने उपभोक्ता समिति र सम्बन्धित कार्यालयका कर्मचारीहरुको मिलेमोतोमा काम भएको थुप्रै गुनासाहरु भने आउने गरेका छन । एउट निकायको पैसामा काम गरेपनि अर्को निकायबाट प्राप्त भएको रकमलाई पुरानै काम देखाएर विल मिलाउने गरेको गुनासा आएपनि त्यस तर्फ भने कसैको ध्यान पुगिरहेको देखिदैन ।

पर्वतका ग्रामीण सडकका दुरावस्थाहरु
पहिलो तस्विर कालोपत्रे भएको दोविल्ला फलेवास सडकको गुणस्तर ।

दोस्रो तस्विर दोविल्ला फलेवास खण्डको अवस्था

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस