१२ मंसीर, पर्वत । ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजना धमाधम थपिँदै गएपछि पर्वतको मोदी खोला भने आफ्नो प्राकृतिक अस्तित्व गुमाउने अवस्थामा पुगेको छ । कुनै समय कलकल बग्ने मोदी खोलाका कतिपय खण्ड अहिले पानीविहीन छन् । खोलामा पानी घट्दै जाँदा यहाँको प्रसिद्ध असला माछा र अन्य जलचरको अस्तित्वसमेत सङ्कटमा परेको छ ।
यही अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पर्वत आइपुगेका छन् । जिल्लाका विभिन्न विकास निर्माण तथा ऊर्जा र सिँचाइ क्षेत्रका समस्या बुझ्न आएका मन्त्रीले मोदी खोलाको अवस्था पनि अवलोकन गर्छन् कि गर्दैनन् भन्ने चासो स्थानीयस्तरमा उठेको छ ।
मोदी खोलाको प्राकृतिक बहाव रोकेर जलविद्युत् उत्पादन गर्ने प्रवृत्तिले नदीको पर्यावरणीय सन्तुलनमा गम्भीर असर पारेको छ । कास्की र पर्वतको सिमाना नयाँपुलदेखि कुश्मा नगरपालिका–८ चुवासम्मका विभिन्न खण्डमा खोलाको पानी अत्यन्त न्यून हुने गरेको छ । कतिपय स्थानमा त नदीको प्राकृतिक बहाव नै अवरुद्ध भएको स्थानीयको गुनासो छ ।
पर्वत खण्डमा मोदी खोलामा मात्रै चारवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी, २० मेगावाटको तल्लो मोदी र १० मेगावाटको तल्लो मोदी ‘ए’ आयोजना सञ्चालनमा छन् । एउटै खोलामा आयोजना थपिँदै जाँदा पानीको उपयोग बढेको छ तर नदीको प्राकृतिक बहाव र जलचर संरक्षणमा पर्याप्त ध्यान पुग्न सकेको छैन ।




