१७ भदाैं, पर्वत । रसुवा लगायत देशका विभिन्न स्थानमा भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पर्वतको कुश्मा नगरपालिका–१२, बाटुलेचौरस्थित कालिका भगवती मन्दिर क्षेत्र विकास समितिले यस वर्षको तीज मेला स्थगित गरेको छ।
समितिका अध्यक्ष गणेश पौडेलले बुधबार सूचना जारी गर्दै देश शोकमा रहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै विगतका वर्षमा हुँदै आएको तीज मेला यस वर्ष आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
बाढीबाट प्रभावित परिवार तथा शोकमा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै उत्सव तथा मनोरञ्जनका कार्यक्रम आयोजना गर्दा नकारात्मक सन्देश जान सक्ने भएकाले मेला स्थगित गरिएको अध्यक्ष पौडेलले बताए।
समितिले आफ्नो निर्णयलाई सकारात्मक रूपमा लिई सहयोग गरिदिन सम्बन्धित सबैमा आग्रह गरेको छ।
यसअघि बिहादी गाउँपालिकले आयाेजना गरेकाे तीज कार्यक्रम समेत स्थगित गरिएको छ ।




