१५ भदौ, पर्वत । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्वत जिल्लाका एक जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीपछि विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकको खोजी भइरहेका बेला पर्वतका एक जना अझै परिवारको सम्पर्कमा नआएको विवरण प्राप्त भएको हो ।
विनाशकारी बाढीमा परी पर्वतका एक बैंक प्रबन्धक अझै सम्पर्कविहीन छन् । पर्वतको फलेवास नगरपालिका–४, मुडिकुवाका शिव लम्साल बाढी आएको दिनदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएका हुन् ।
लम्साल रसुवाको स्याफ्रुबेँसीस्थित एक बैंकका शाखा प्रबन्धकका रूपमा कार्यरत थिए । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा उद्धार तथा खोजी कार्य जारी छ। पछिल्लो विवरणअनुसार हजारौँ मानिसको उद्धार भइसके पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।
यसै वीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएकाको तथ्याङ्क सार्वजनिक गरिरहेको छ । प्राधिकरणको उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १७ जनाको रसुवाबाट उद्धार गरिएको छ ।
पर्वतका ५० वर्षीय प्रेमप्रसाद सुवेदी र २१ वर्षीय आकाश चुनरा तथा गोर्खाका ७० वर्षीय बुढानिधि पन्त र ६० वर्षीय सिता पन्तलाई पनि रसुवाबाट सकुशल उद्धार गरिएको छ ।




