असार १०,पर्वत । विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिकाको गाउँसभामा अध्यक्ष परविन गुरुङ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा चालु आर्थिक वर्षका उपलब्धिहरू प्रस्तुत गरेका थिए। त्यसैगरी उपाध्यक्ष मिना शर्मा तिवारी ले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४६ करोड ४५ लाख ३५ हजार ९ सय ९८ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल पश्चात् सर्वसम्मत रूपमा पारित गरिएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने तथा जनअपेक्षाअनुसारका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




