२३ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको खोजी र पहिचान गर्ने भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले नगरपालिकाले निःशुल्क र आधारभूत शिक्षा प्राप्त गर्ने सवै बालबालिकाको अधिकार भएको भन्दै त्यस्ता बालबालिकाहरुको खोजी कार्य गर्न लागिएको जानकारी दिनुभयो ।
नेपाल सरकारले निशुल्क र आधारभूत शिक्षा प्राप्तिका लागि जारी गरेको ऐन बमोजीम कोहि पनि शिक्षाको ज्योतिबाट बाहिर हुन नहुने उल्लेख छ । ऐनमा २०८५ साल पछि हुने कुनै पनि जागिर, निर्वाचन र जिम्मेवारीमा कक्षा ८ पास नगरेको ब्यक्तिले अवसर नपाउने उल्लेख गरिएको छ ।
शिक्षा शाखा प्रमुख तिवारीले सरकारले जारी गरेको ऐन कार्यान्वयन हुने बेलामा कोहि पनि निरक्षर नहोस भनेर नगरपालिकाले घरधुरी सर्वेक्षण मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीको खोजी कार्य गर्न लागिएको जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले बालबालिकाको पहिचान र खोजी कार्यमा सहयोग गर्न सवै पक्षलाई आग्रह र अनुरोध गर्नुभएको छ । नगरपालिकाले विद्यालय बाहिर भएका बालबालिकाको पहिचान भएमा निशुल्क शिक्षा उपलब्ध गराउने पौडेलको भनाई छ ।




