६ जेठ, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले कोदोबाट बनेको लोक्कल मदिरालाई ब्रान्डिङ गर्र्दैछ । गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कोदोबाट बनेको रक्सीलाई ब्रान्डिङ गर्ने भएको हो । बसाईसराईका कारण खेतबारी बाँझो हुने र कोदोको उत्पादन घट्दै जाँदा गाउँपालिकाले कोदोको उत्पादन बढाउँदै स्थानीबासीको आर्थिक श्रोत पहिचानका लागि कोदोको मदिरालाई ब्रान्डिङ गर्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले स्थानीय मदिरालाई वैधानिकता प्रदान गर्न पनि यो कार्यक्रम गर्न लागेको बताउनुभयो । अध्यक्ष गुरुङले अवैध रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरालाई वैधानिकता दिनका लागि यस्तो अयिभानको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । ‘गाउँपालिकामा अधिकांश बस्तीहरुमा घरेलु मदिरा उत्पादन हुँदै आए पनि त्यसले वैधानिकता पाएको छैन ।’ अध्यक्ष गुरुङ भन्नुहुन्छ–‘लेवलिङ, प्याकेजिङ देखि बजार सुनिश्चिता कार्यका लागि समेत गाउँपालिकाले स्थानीयबासीलाई सहयोग गर्छ ।’ उहाँले घरेलु मदिराको माग बजारमा भए पनि त्यसको वैध उत्पादन नभएको भन्दै स्थानीय उत्पादनलाई गुणस्तर कायम गर्दै बैधानिकता प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।
घरेलु रक्सिको गुणस्तरहिन हुँदा त्यसले स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको पाइन्छ । कतिपय ठाउँमा यूरिया लगाएतका विषादी हालेर समेत मदिरा उत्पादन गर्दछन् । अध्यक्ष गुरुङ भन्नुहुन्छ–‘गुणस्तर कायम गर्नका लागि समेत यो कार्यक्रम मार्फत गाउँपालिकाले सहयोग गर्नेछ ।’ कोरिया लगाएतका देशमा आफ्नै देशको उत्पादनको मदिरा खपत हुने गरेको भन्दै गुरुङले नेपालमा पनि विदेशी मदिरालाई निषेध गरी घरेलु उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
रक्सि ब्रान्डिङका लागि पहिलो चरणमा गाउँपालिकाले मदिरा उत्पादन गर्ने स्थानीयबासीलाई सुचिकृत हुन आब्हान गरेको छ । उनीहरुले बनाईरहेको पुरातन विधिलाई विस्तापीत गरी नयाँ प्रविधि र गुणस्तर कायम हुने विश्वास गाउँपालिकाले लिएको छ । ‘सुचिकृत भएका उद्यमीहरुलाई तालिम दिएर मदिरा उत्पादन गर्न लगाइनेछ ।’ विहादी गाउँपालिकाका रोजगार शाखा प्रमुख हिमलाल गिरी भन्नुहुन्छ–‘प्रविधि र सीप दुवै हस्तान्तरण हुनेछ ।’ गिरी भन्नुहुन्छ–‘सुचिकृत भएका उद्यमीहरुलाई कोदोको मात्रै मदिरा उत्पादनमा प्रोत्साहित गरिनेछ ।’ यो अभियानले गाउँमा कोदो उत्पादनमा बृद्धि हुने गाउँपालिकाको विश्वास छ ।
गाउँपालिका उपाध्यक्ष मिना तिवारीले मदिरा उत्पादनलाई आय आर्जनसंगै कृषि उत्पादनमा बृद्धि गर्ने गाउँपालिकाको उद्देश्य रहेको बताउनुहुन्छ । गाउँपालिकाले सञचालन गरेको यो अभियानमा क्रमशः सुचिकृत हुनेहरुको संख्यामा बृद्धि हुने तिवारीको भनाई छ ।
गाउँपालिकाल नवप्रवर्तन कार्यक्रम अन्तर्गत बाँसको प्रसोधन गरी त्यसबाट विभिन्न सामाग्री उत्पादन गर्ने सीपमूलक तालिम समेत दिदैछ । स्थानीयबासीको मागहरुको आधारमा गाउँपालिकाले विभिन्न प्रकारका तालिमका प्याकेजहरु सञचालन गर्न लागेको गाउँपालिकाका रोजगार संयोजक गिरीले जानकारी दिनुभयो ।




