Print

नयाँ/पुराना हैन दृष्टिकोण, योग्यता र असल नियतको खाँचो


गोविन्द पहाडी

जनअपेक्षाहरु बदलिएका छन् । युवाहरुको राज्यप्रतिको भरोसा र राज्य वारे सोच्ने तरिका फेरिएको छ । वर्तमान समय र समाजका प्रश्नको उत्तर वर्तमानबाटै खोज्नुपर्ने बेला आएको छ । आजका प्रश्नको उत्तर अव हिजोको बनिबनाऊ जवाफ हुन सक्दैनन् । विज्ञान र प्रविधिको विकासले फड्को मारिसकेको छ । विकसित देशहरुले प्रविधि बेचिरहेका छन् तर हामी न्यूनतम आवश्यक वस्तु समेत उत्पादन गर्न नसकेर आयातमुखी अवस्थामा बाँचिरहेका छौं, परनिर्भर अर्थतन्त्रको दुष्चक्रमा छौं ।

राज्य नागरिकहरुलाई सेवा सुविधा उपलब्ध गराउन, समाजलाई नीति नियमभित्र रहेर चल्न सहयोग गर्न र भौतिक/आर्थिक विकास निर्माणका काम व्यवस्थापन गर्न स्थापना गरिएको हो भन्ने मान्ने हो भने राज्य सञ्चालन गर्ने राजनीतिले यी सवै कुराको यथोचित जवाफ र सो अनुसारको व्यवस्थापन गर्नुपर्दछ ।

अव चर्का भाषण, राम्रा दस्तावेजले मात्र जनताले खुशी पाउन सक्ने देखिएन् । अव नेता तथा दलहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सृजना, औद्योगिकीकरण लगायतका सवालमा कसरी के काम गर्ने हो भन्ने प्रष्ट खाका (योजना तथा मोडल) आउनुपर्छ । देश विकासका मोडल सार्वजनिक गर्ने, घोषण पत्रमा समावेश गर्ने तर सत्तामा पुगेपछि निर्वाचनका बेला गरिएका प्रतिवद्धता अनुसार चल्न नखोज्ने प्रवृत्ति एउटा समस्याको रुपमा विगतदेखि भोगियो । अर्को तर्फ देश विकासका संवन्धमा कुनै प्रष्ट नीति, लक्ष्य र योजना नभएका पार्टी तथा व्यक्तिहरु चर्का कुरा मात्र गर्ने र निरासा जम्मा पारेर आगो बाल्नेहरुको जगजगी छ । कुराले मात्र, स्टनवाजीले मात्र देश बन्दैन्, देश बन्नका लागि स्पष्ट दृष्टिकोण भएको दल तथा त्यसको मुल नेतृत्व आवश्यक पर्दछ भन्ने बुझाउन अझै सकिएको छैन् । ठुलो पङ्ती अहिले पनि सामाजिक सञ्जाल तथा अनलाईन मार्फत पस्किईरहेका भ्रमपूर्ण, नक्कली र हावादारी सामग्री, समाचार तथा अफवाहको पछि लागिरहेको छ, यसले प्रष्ट संकेत गर्दछ हामी लयमा छैनौं । भाद्र २३ र २४ को घटनाको नेतृत्व गरेको हुँ भन्ने एकजना युवाले एक टेलिभिजन अन्तरवार्तामा “मैले बल्ल समाज बुझें, नागरिकको चेतना बुझें, ऐन, कानून र विधि बन्ने तरिका र शासन प्रणालीका कुरा बुझें । अझै पनि हामी ठिक र वेठिक छुटाउन अवस्थामा रहेनछौं ।” उनको प्रष्ट भनाई छ, “कुरा गर्न मात्र सजिलो रहेछ, जिम्मेवारीमा रहेर हेर्दा निकै अप्ठ्याराहरु रहेछन् । देश चलाउने कुरा त्यति सजिलो रहेनछ, कार्यकारी प्रमुखको प्रणालीमा जान पाए सवै समस्याका समाधान एकैरातमा हुन्थ्यो झैं गरि बुझेका थियौं, तर आजको समाजको चेतना, चिन्तन र हाम्रो बुझाईको स्तर हेर्दा त्यो सम्भव नहुने जस्तो लाग्न थाल्यो ।” उनको भनाईमा भाद्र २३ र २४ गतेको घटनाले हातहातै केहि समाधान दिन नसकेको कुराको स्विारोक्ती छ ।

त्यसकारण सत्य के हो भने भावना, चाहना र रहरले मात्र समाज बदलिने कुरा सम्भव छैन् । पुराना र नयाँ दल मध्ये कुन ईमान्दार र भरोसायोग्य ? अघिल्लो पुस्ता र युवा पुस्ता मध्ये कुन क्षमतावान र जवाफदेहि ? यस प्रकारको भाष्य निर्माण गर्न खोजिनु राष्ट्रिय एकतामा खलल पुराउनु र सामाजिक सदभाव खलवलाउनु हो । देश बनाउने कुरा, नीति÷कार्यक्रम तर्जुमा गर्ने काम तथा राज्य सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारीलाई पुराना र नयाँ पुस्ताका रुपमा कित्तावन्दी गर्नु दुखद पक्ष हो । देशमा राणा शासन, पञ्चायत तथा राजा फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न बलिदानी गर्ने पुस्तालाई जथाभावी गाली गलौज नगरौं । देश बनाउने वा चलाउने कुरा समाज विकास वारेको दृष्टिकोण, योग्यता, अनुभव र दृढता सहितका गुण भएका व्यक्तिले हो । यी गुण पुराना पुस्तामा पनि छन् र नयाँ पुस्तामा पनि अवश्य छन् । यो उमेरले हदवन्दी गर्न मिल्ने विषय हैन् । नयाँ पुस्तामा देश बनाउने रहर र हुटहुटी देखिन्छ तर देश बनाउन र राज्य चलाउन क्षमता, परिपक्वता, सुझबुझ र अनुभव आवश्यक हुन्छ भन्ने कुरा बुझ्न र बुझाउन बाँकी छ । पुराना नेता र दलहरु अनुभवका आधारमा सुधारिनु र नयाँ पुस्ताले सवैको साथ समर्थन लिएर, विधि प्रकृया बुझेर परिपक्व तरिकाले अगाडी बढ्नु नै श्रेयस्कर हुन्छ ।

केहि भिजन भएका, देशका लागि केहि गर्नुपर्छ भन्ने दृष्टिकोण भएका नेताहरु नभएका होईनन् तर ती मध्ये कतिपयले काम गर्ने सहज वातावरण पाउन सकेनन् भने कतिपय आफनो पार्टी, पार्टीभिका गुट र अनेक स्वार्थ समूहको चंगुलमा परेर परिणाम दिन सकेनन् । राष्ट्र, राष्ट्रिय र स्वाधिनताका पक्षमा काम गर्न खोज्ने नेताहरु वैदेशिक शक्तिहरुको निसाना बन्ने परिस्थिती बन्यो । आफनो सार्वभौमसत्ता जोगाउनका लागि कसैसँग नझुक्ने अडान र अठोट एकातिर थियो भने अर्कोतर्फ हामीले स्वाधिन अर्थतन्त्र निर्माण गर्न सकिरहेका थिएनौं । जसको फलस्वरुप हामी माथि पटक पटक अनेक प्रकारले आक्रमण, घेरावन्दी र अपमान हुने गरेकै हो ।

यी सवै अनुभवबाट सिकेर, बुझेर अव उमेर समुहक आधारमा पुस्ता वा नयाँ र पुराना दलको भाष्य निर्माण नगरि देश विकासका संवन्धमा स्पष्ट योजना, लक्ष्य र खाका प्रस्तुत गर्ने दल तथा नेताको छनौट आजको आवश्यकता हो । अपेक्षाकृत विकास हुन नसकेको भएतापनि विगत ३ दशकमा कुन दलले सरकार सञ्चालन गर्दा के कस्ता नीति, बजेट र कार्यक्रम अगाडी सारे भन्ने कुरा जेन जेडको पछिल्लो तहको पुस्ता तथा जेन वाई पुस्ताले बुझेको र भोगेको छ । त्यसैले पुरानो हुँदैमा नजान्ने हुँदैन र नयाँ हुँदैमा जान्दछ भन्ने हुँदैन् । दल आँफैमा खराव हुँदैनन् । दलका नीति, लक्ष्य र कार्यक्रमहरु खराव हुँदैनन् । नेताले दलको नीतिको नेतृत्व गर्ने कुरा हो । नेतृत्व सीप, नेतृत्व तरिकाका वारे समिक्षा हुन सक्छ, हुनुपर्छ छ तर आँखा बन्द गरेर फलानो दल वा पुरानो दल खराव भन्नु पुर्वाग्रह मात्र हुन्छ ।

दलहरु आवधिक रुपमा अधिवेशनहरु मार्फत आफना सदस्यहरुबाट अनुमोदित भैरहन्छन् । दलहरुले आवधिक रुपमा समाजको आर्थिक, सामाजिक र राजनीतिक चरित्रको विश्लेषण गरिरहेका हुन्छन् र सो अनुसार नै आफना कार्यनीति र लक्ष्यहरु किटान गरिरहेका हुन्छन् । त्यसकारण दलहरु स्थापना वर्षका आधारमा नयाँ÷पुराना भन्ने हुँदैनन् । नेता पनि उमेरका आधारमा क्षमतावान, लायक र योग्य हुने भन्ने हुँदैन् । दल तथा नेताहरुले वर्तमानलाई कसरी बुझेका छन्, वर्तमानका समस्याहरुलाई कसरी विश्लेषण गरेका छन् र समाधानका लागि कस्तो नीति अख्तियार गर्न खोजिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ र हुनुपर्छ । कुन दल वा कुन नेता ठिक वा बेठिक भन्नका लागि उसको समाज र देश विकासकाको अगुवाई गर्नका लागि आवश्यक पर्ने दृष्टिकोण, योग्यता, नियत र प्रतिवद्धताको मूल्यांकन हुनुपर्दछ ।
माघ ८, २०८२