प्रतिनिधि सभा सदस्यको उमेदवार बन्न जोशीको छैटौं पटक आकांक्षा
२४ मंसिर, पर्वत । सरकारले तोकेको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २२ जनाले दाबी गरेका छन् । कांग्रेस पाटी कार्यालयमा आज सम्पन्न उमेदवारी दावीका लागि २२ जनाकाले आवेदन दिएको पर्वत कांग्रेस श्रोतले जनाएको छ । प्रत्यक्ष तर्फ १ सिटका लागि हुने निर्वाचनमा पर्वत कांग्रेसको तर्फबाट २२ जनाले आकाक्षा देखाएका हुन् । कांग्रेस श्रोत भन्छ–‘दावी गर्नेहरु वीच बसेर सहमतीको प्रयास गरिनेछ ।’
सहमती नभएको अवस्थामा दावी गर्ने सवै जनाको नाम केन्द्रिय कमिटिमा पठाउने यस अघि नै केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले बताउनुभएको छ । प्रतिनिधि सभामा निर्वाचन लड्नका लागि पूर्व सांसद अर्जुन जोशीले छैटौं पटक पनि आकाक्षा ब्यक्त गर्नुभएको छ । ३ पटक प्रतिनिधि सभामा निर्वाचित जोशी २ पटक पराजीत भईसक्नुभएको छ । जोशीसंगै प्रतिनिधि सभामा यस अघि २०७४ सालको निर्वाचनमा प्रदेश सभामा पराजीत हुनुभएका नवराज गुरुङले समेत दाबी पेश गर्नुभएको छ ।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा पराजीत ऋषीकेश तिवारीले समेत प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ दावी पेश गर्नुभएको छ । प्रतिनिधि सभामा कुश्मा नगरपालिकाका पूर्व नगर उपप्रमुख सिता काप्ले लामिछाने तथा तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ र २०७४ सालकै निर्वाचनमा प्रदेश सभा तर्फ पराजीत हुनुभएका ऋषीकेश तिवारी र राजेन्द्र तिवारीले समेत दाबी पेश गर्नुभएको छ ।
जलजला गाउँपालिकाका पूर्व अध्यक्ष तथा जिल्ला सभापतिमा पराजीत कांग्रेस नेता यामबहादुर मल्ल र महासमिति सदस्य तथा महिला नेतृ राधाकुमारी क्षेत्री कुँवर तथा पैयू गाउँपालिकाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद तिवारीको समेत दावी रहेको छ ।
आज जिल्ला कार्यालयमा भएको उमेदवारीको आकांक्षा संकलनमा कांग्रेस क्षेत्रीय कार्य समितिका सचिव तथा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, महाधिवेशन प्रतिनिधि मुना भुषाल, डा. केदार सुवेदी पूर्व सचिव विश्व प्रसाई, कांग्रेस नेताहरु विल्लब हमाल, मिनाकुमारी केसी, कुलप्रसाद आचार्य, जगत शकर पौडेल, राम शर्मा पौडेल र भाष्कर शर्मा पौडेलले समेत दाबी प्रस्तुत गर्नुभएको कांग्रेस श्रोतको भनाई छ ।
१ जना उमेदवारका लागि २२ जनाको आकांक्षा देखिए पछि कांग्रेस नेताहरु आन्तरीक छलफलमा जुटेका छन् । यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ ८ जना र आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ४ जनाको आकांक्षा देखिएको बताइन्छ ।




